अर्जुनधारा । झापाको कनकाई नगरपालिका ६ स्थित चम्पापुरमा लकडाउन उल्लंघन गरी सडकमा निस्कने व्यक्तिलाई सशस्त्र प्रहरीले होल्ड गराएको छ ।
सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको गस्ती टोलीले शुक्रबार साँझ ३० जना स्थानीयलाई अनावश्यकरुपमा सडकमा निस्कनेलाई होल्ड गराएको हो ।
उनीहरुलाई लकडाउन र कोरोना भाइरसको संक्रमणका बारेमा सुझाव दिएर छाडिएको बेस क्याम्पका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टले जानकारी दिए । उनका अनुसार गस्ती टोलीले को. २ त ९०७६ नम्बरको ट्याक्टरलाई पनि नियन्त्रणमा लिएको छ ।
लकडाउनका समयमा बिरिङ खोलाबाट अनाधिकृतरुपमा बालुवा ओसारिरहेको उक्त ट्याक्टरलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल शनिश्चरेको टोलीले अर्जुनधारा, बिर्तामोड र कनकाई नगरपालिका क्षेत्रमा कडारुपमा निगरानी बढाएको जनाएको छ ।