अर्जुन राजवंशी,
दमक । सेल्फ क्‍वारेन्टाइनले झापामा कोरोना भाइरसको जोखिम बढाएको छ। दमक नगरपालिका(३ का ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि जोखिम बढेर गएको हो।

संक्रमण पुष्टि भएका वृद्धका ३३ वर्षीय छोरा चैत ७ गते दुबईबाट फर्किएर घरमै ‘सेल्फ क्‍वारेन्टाइन’ मा बसेका थिए। उनी नगरपालिकाले निर्माण गरेको क्‍वारेन्टाइनमा नबसी घरमै बसेका थिए। छोरा विदेशबाट आएकाले उनीबाटै बुबालाई संक्रमण सरेको हुन सक्ने स्वास्थ्यकर्मीको दाबी छ।

जिल्लामा क्‍वारेन्टाइनमा बस्नेभन्दा सेल्फ क्‍वारेन्टाइनमा बस्नेको संख्या दोब्बर छ। जिल्ला समन्वय समिति ९जिसस० को तथ्यांकअनुसार जिल्लाका १५ स्थानीय तहमा २७ वटा क्‍वारेन्टाइन छन्। त्यहाँ ७ सय ९२ जनालाई एकैपटक राख्न मिल्ने क्षमता छ। तर, अहिले २ सय ३ जना मात्र क्‍वारेन्टाइनमा बसिरहेका छन्। क्‍वारेन्टाइनमा बसेका २ सय ८७ जना भने घर फर्किसकेका छन्।

तथ्यांकअनुसार सेल्फ क्‍वारेन्टाइनमा भने एक हजार ४६ जना छ । संक्रमण पुष्टि भएको दमक नगरपालिकामा तीन स्थानमा गरी एक सय १४ जना राख्न मिल्ने क्‍वारेन्टाइन निर्माण गरिएको छ। तर, अहिले ४१ जना मात्र क्‍वारेन्टाइनमा बसिरहेको नगरपालिकाले जनाएको छ। नगरभित्र सेल्फ क्‍वारेन्टाइनमा भने तीन गुणा बढी एक सय २३ जना रहेका छन्। ‘वृद्धलाई कोरोनाको संक्रमण विदेशबाट आएको छोराबाटै सरेको हो भन्ने हाम्रो निष्कर्ष हो,’ दमक(३ का वडाध्यक्ष नवीन बरालले भने, ‘सेल्फ नबसेर क्‍वारेन्टाइनमा बसेको भए सायद बुबालाई संक्रमण देखिँदैन थियो कि।’

नगरपालिकाका स्वास्थ्य सहायक कुबेर भट्टराईका अनुसार दमकमा विभिन्न देशबाट एक सय १७ जनाभन्दा बढी आएको तथ्यांक छ।

घरमा ३५ भन्दा बढी आफन्त
संक्रमण पुष्टि भएका वृद्ध पूर्व भारतीय सैनिक हुन्। चार जनाको परिवारमध्ये विदेशबाट छोरा आउनुअघि घरमा वृद्ध दम्पतीमात्र बस्दै आएका थिए। चैत ७ गते बिहान छोरा घर आइपुगेको दुई दिनपछि तेह्रथुम मावल गएकी बुहारी पनि घर फर्किएकी थिइन्।

कोरोनाबारे जानकार बुबाले विदेशबाट आएका छोरालाई छुट्टै क्‍वारेन्टाइनमा बस्न भनेका थिए। छिमेकी तथा जनप्रतिनिधि समेतले घरमै सुरक्षित रुपमा ‘सेल्फ क्‍वारेन्टाइन’ मा बस्दा हुन्छ भनेपछि श्रीमती र आफू १४ दिनसम्म अलग्गै बसेको विदेशबाट आएका छोराले टेलिफोनमा कान्तिपुरसँग भने।

‘घर आइपुगेपछि म र श्रीमती छुट्टै बसेका थियौं। थर्मोमिटरले दैनिक हामी दुईको ज्वरो नाप्ने गरेको थिए। १४ औं दिनसम्म ज्वरो देखिएन। कोरोनाको अन्य लक्षण पनि नदेखिएपछि हामी बाहिर निस्किएका थियौं,’ उनले भने। १४ दिनपछि उनी नजिकै रहेको ठूलोबुबा र मामा घर गएको बताए।

संक्रमित वृद्ध सुगर र प्रेसरका बिरामी हुन्। लकडाउनकै समयमा औषधि खरिद गर्न उनी दुईपटक दमक बजार गएको छोराले बताए। वृद्धमा कोरोना संक्रमण पुष्टि भएको दुई दिनअघि मात्र उनको घरमा मरिमराउको काम सकिएको थियो। चैत ३० गते संक्रमित वृद्धका तेह्रथुमस्थित सासूआमाको निधन भएको थियो।

लकडाउनका कारण सासूको काममा उनीहरु पहाड जान सकेनन्। आमाको निधनको खबरलगत्तै वृद्धकी श्रीमती र इटहरीबाट आएकी दिदीसासु उनकै घरमा किरियामा बसे। १० दिनको काम चैत ९ मा सकिएको थियो।

‘आमा र ठूली आमा काममा बस्नुभएको बेला दमक ३, ६ र ९ नम्बर वडाबाट ठूलोबुबाको परिवार, मामाको परिवार, भाउजू, दाजुका छोराछोरीहरु, भान्जाभान्जीसहित करीब ३०र३५ जना हाम्रो घरमा आए होलान्,’ ती युवकले भने।

घरमा शुद्ध्याइँको काम सकिएपछि आरडीटी गर्न आफू दमक अस्पताल गएको उनले बताए। परीक्षणका क्रममा उनको एन्टिबडी पोजिटिभ देखिएपछि स्वास्थ्यकर्मीको टोली घरमै आएर बुबाआमा र श्रीमतीको पनि परीक्षण गरेको थियो। सो क्रममा उनकी श्रीमतीको रिपोर्ट नेगेटिभ तथा बुबाआमाको एन्टिबडी पोजिटिभ देखिएको थियो। श्रीमतीको भने आरडीटी र पीसीआर दुवैम नेगेटिभ देखियो।

दुबईबाट सँगै साथी पनि आएका थिए
युवक चार वर्षदेखि वैदेशिक रोजगारीमा थिए। कम्पनीमा उनीसँगै बुद्धशान्ति गाउँपालिकाका एक युवक पनि कार्यरत थिए। एउटै कोठामा बसेर काम गर्ने दुवै जनाले बिदा पाएपछि सँगै घर फर्किने निर्णय गरे।

दुवै दुबईबाट चैत ६ गते काठमाडौं झरेका थिए। एयरपोर्टबाट ट्याक्सी चढेर कलंकी भएका उनीहरु त्यहाँबाट दिउँसो ३ बजे नाइट बस चढेर झापातर्फ लागे। दमकका युवक ७ गते बिहान कृष्ण मन्दिर चोकमा बसबाट ओर्लिएर दापगाछीस्थित घरतर्फ लागेका थिए। सँगै फर्किएका बुद्धशान्तिका साथीमा भने कोरोना परीक्षण नेगेटिभ आयो।

‘शनिबारमात्रै मैले साथीलाई फोन गरेर सोधेको थिए। उनी र उनका श्रीमती, छोराछोरी सबैको रिपोर्ट नेगेटिभ आएछ,’ उनले भने, ‘मेरो पनि पीसीआर नेगेटिभ देखियो। श्रीमती र आमाको पनि रिपोर्ट नेगेटिभ छ। बुबाको मात्र कसरी पोजिटिभ भयो, अचम्म लागिरहेको छ।’ कान्तिपुरबाट