झापा । अर्जुनधारा नगरपालिकाले विपन्न परिवारको घरमा चुलो नबलेको खोजी गर्दै खाद्यान्न उपलब्ध गराउन पहल सुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले लागु गरेको लकडाउनका कारण दैनिक रोजगारीमा जान नपाएका अतिविपन्न परिवारलाई स्थानीय जनप्रतिनिधिको सिफारिसमा अनुगमन गरेर नगरपालिकाले खाद्यान्न उपलब्ध गराउन थालेको नगर प्रमुख हरिकुमार रानाले बताए ।

उनका अनुसार वडा नम्बर तीन व्यक्तिको परिवारलाई जनही १० केजी चामलका दरले राहत सामग्री उपलब्ध गराउन सम्बन्धित फाँटलाई निर्देशन दिइसकिएको छ । सो वडाका फूलमाया दर्जी, मनमाया सुन्दास र हरि राजवंशीको घरमा खाद्यान्न अभाव भएको पाइएको थियो । अनुगमनका क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत जनप्रतिनिधि सहभागी थिए ।

पहिलो चरणमा नगरपालिका र वडा कार्यालयले ३४ सय ४० घरपरिवारलाई खाद्यान्न वितरण गरिसकेको छ । नगरकी उपप्रमुख तथा खाद्यान्न व्यवस्थापन समितिकी संयोजक कमला खतिवडा आचार्यका अनुसार राहत प्रदान गर्नका लागि विभिन्न दाताले ५ लाख ५० हजार २ सय रुपैयाँ नगदै सहयोग गरेका छन् ।

त्यस्तै, १२ सय ६२० केजी चामल, एक सय काटन पानी, १५ लिटर खानेतेल, १५ केजी दाल र ३० थान साबुन पनि दाताबाट संकलन भएको छ ।

नगरपालिकाले दोस्रो चरणको तयारी पनि सुरु गरिरहेको जनाएको छ । जसका लागि नगरपालिकाले केही खाद्य सामग्री खरिद गरी भण्डारसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । दाेस्राे चरणकाे खाद्यान्न वितरणकाे मिति ताेकिएकाे भने छैन ।

उनका अनुसार दोस्रो चरणका लागि ७ लाख २६ हजार बराबरको १६ सय पाँच सय केजी चामल र २ लाख २० हजारबराबरको २ हजार केजी मुसुरो दाल खरिद गरिएको छ ।

यसअघि २४ लाख ८२ हजार १३७ रुपैयाँबराबरको खाद्यान्न राहतस्वरुप नगरपालिकाले वितरण गरिसकेको जनाइएको छ ।