झापा । झापामा दुबईबाट आएका २६ वर्षीय छोराबाट ६२ वर्षीय बुबामा कोरोना भाइरस सरेपछि स्वास्थ्यकर्मीको टोलीले परिवारको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्रयाक्ट ट्रेसिङ तीव्र पारेका छन्।
दमक नगरपालिका ३ को उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर, पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको चार किल्ला सिल गरिएको छ।
स्वास्थ्यकर्मीको टोलीले ‘कन्ट्रयाक्ट ट्रेसिङ’ थालिसकेका स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवम् जिल्ला विपत् व्यवस्था सहायता कक्षका सचिव जीवन चौलागाईंले जानकारी दिए।
उनका अनुसार शनिबारदेखि आइतबार बिहान १० बजेसम्म कोरोना संक्रमित परिवारको सम्पर्कमा आएका ७० जनाको पहिचान खुलेको छ। उनीहरूको सम्पर्कमा आएका अरू व्यक्तिको पनि ‘कन्ट्रयाक्ट ट्रेसिङ’ हुँदैछ।
‘पहिलो चरणमा कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्क आएका व्यक्तिहरूको आइतबार नै स्वाब संकलन गरिनेछ,’ चौलागाईंले भने, ‘सबैको आरडिटीबाट परीक्षण गरिन्छ, शंकास्पद देखिएमा पिसिआरका लागि धरान वा विराटनगर पनि स्वाब पठाइन्छ।’
संक्रमितको परिवारका सम्पर्कमा आफन्तजन र छरछिमेक, साथीभाइ गरी ५ सय बढीको स्वाब परीक्षण गरिनेछ। पहिलो चरणको परीक्षणको काम सकिएपछि दोस्रो चरणमा अरूको परीक्षण हुन्छ,’ उनले जानकारी दिए।
जिल्ला, दमक नगरपालिका र आसपासका स्थानीय तहका स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीका चार वाट टोलीलाई कन्ट्रयाक्ट ट्रेसिङदेखि स्वाब परीक्षणका लागि खटाइएको उनले बताए।
मरिमराउमा तीन दर्जन आफन्त
कोरोना संक्रमति वृद्धको घरमा बुधबार मात्र मरिमराउको काम सकिएको थियो। शुक्रबार संक्रमण पुष्टि भएका वृद्धको सासूआमाको १२ दिनअघि निधन भएको थियो। आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासू दमकस्थित उनकै घरमा किरियामा बसेका थिए।
उनकी दिदीसासू इटहरीको हाँसपोसाबाट आएर कामकाजमा बसेकी थिइन्। काममा बस्ने क्रममा उनको घरमा हाँसपोसाबाट दिदीसासूसहित २, दमक वडा नम्बर ६, ७ र ९ बाट ४र४ जनासहित करिब तीन दर्जन आफन्त आएका थिए।
‘मरिमराउमा दमकसहित जिल्लाका विभिन्न स्थानबाट आफन्तजन आएको जानकारी प्राप्त भएको छ,’ चौलागाईले भने, ‘उनीहरूलाई पनि सम्पर्कमा ल्याउने काम भइरहेको छ। परिवारका सम्पर्कमा आएका केही व्यक्ति आफै पनि स्वास्थ्यकर्मीको सम्पर्कमा आइरहेका छन्।’
यता दमकमा कोरोना फैलिन नदिन दमक नगरपालिकाले उच्च सतर्कता अपनाइसकेका नगरपालिकाकी उपप्रमुख तथा नगर कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिकी प्रवक्ता गीता अधिकारीले बताइन्।