झापा । नगरदेखि बाहिरी क्षेत्रका मानिसलाई झापाको अर्जुनधारा नगरपालिकाले सोमबारदेखि प्रवेशमा पूर्ण रोक लगाएको छ ।
कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि यसको नियन्त्रणमा कडाइ गर्ने उद्देश्यले छिमेकी पालिकाबाट आउने जोकोहीलाई रोक लगाइएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।
उनका अनुसार यसको निगरानीका लागि सम्बन्धित वडा कार्यालय, वडामा रहेका टोल विकास समिति, टोल सुरक्षा समिति सक्रिय बनाइएको छ । नगरपालिकाले स्वास्थ्य शाखा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती टोलीमार्फत लकडाउनलाई पूर्ण पालना गराउने सन्देश दिइन थालेको छ ।
त्यस्तै, गाउँघरमा नयाँ मान्छे आएको, नचिनेका व्यक्तिको आवतजावत भएको खण्डमा छिमेकीले तत्कालै जनप्रतिनिधि वा नजिकको प्रहरी चौकीमा खबर गर्नुपर्ने सूचनामा उल्लेख छ ।
स्थानीयस्तरमा पनि अनावश्यकरुपमा हिँडडुल नगर्न आग्रह गर्दै जबरजस्ती हिँडडुल गरेको पाइएमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न पनि सकिने सूचनामा जनाइएको छ ।
नगर प्रवेशमा रोक लगाइएको पहिलो दिन दुई स्थानबाट १२ जनालाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीले फिर्ता पठाएको छ ।
स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार अर्जुनधारा ८ शनिश्चरे बजारमा बाह्रदशी गाउँपालिकाबाट आएका निर्माण मजदुरलाई नियन्त्रणमा लिएर फिर्ता पठाइएको छ । उनीहरुको शरीरमा डिसइन्फेक्सन स्प्रे गरेर जताबाट आएको उतै फिर्ता पठाइएको बताइएको छ ।
त्यस्तै, मोरङको पथरीबाट आएका दुई युवालाई पनि फिर्ता पठाइयो । अर्जुनधारा ६ स्थित आफन्तका घरमा आएको खबर पाउनासाथ टोलीले उनीहरुलाई पथरी नै फिर्ता पठाएको थियो ।
यसैबीच, काठमाडौँलगायत विभिन्न जिल्लाबाट घर फर्की आएका ४० जनालाई स्वास्थ्य शाखाले सोमबार होम क्वारेन्टाइनमा राखेको जनाएको छ । अर्जुनधारा नगरपालिकाले हालसम्म १११ जनालाई होम क्वारेन्टाइनमा राखेको छ भने क्वारेन्टाइनमा २ महिलासहित ५ जनालाई राखिरहेको छ ।