राजु पौडेल,
झापा । भारतीय सिमावर्ती इलामको पुलखोला क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गर्न खोज्ने २० जना नेपालीलाई सिमामा खटिएको शसस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारततिरै फर्काएको छ ।

भारत दार्जिलिङसँगको सिमावर्ती क्षेत्र इलामको सूर्योदय-२ पुलखोला क्षेत्रको जंगल हुँदै नेपाल प्रवेश गर्न लागेका दोलखा घर भएका एक महिलासहित सहित २० जनालाई सोमबार दिउँसो पशुपतिनगरस्थित शसस्त्र प्रहरीको बोर्डर आउट पोष्टको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका मध्ये कालिञ्चोक गाउँपालिका–४ का दुई जना र ५ नम्बर वडाका १८ जना रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु दार्जिलिङको सुखियामा मजदुरी गर्ने गर्दथ्ये । दुवै देशतिर लकडाउन बढ्दै जादा खानबस्न समस्या भएर उनीहरु नेपाल छिर्ने खोजेका पाइएको छ । ‘त्यहाँ बस्दा अहिलेसम्म प्रतिव्यक्ती ६ केजी मात्रै चामल दिएको रहेछ’ उनीहरुलाई उद्धित गर्दै बोर्डर आउट पोष्ट पशुपतिनगरका प्रहरी निरीक्षक पवन खड्काले भन्नुभयो, ‘काम नहुदा खान र बस्न समस्या भएर घर फर्किन लागेका रहेछन् ।’

उहाँले समस्या परेका नेपालीहरु भएपनि सरकारी निर्देशनअनुसार भारत फर्काइएको बताउनुभयो । उनीहरुलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएर सुखियातर्फ पठाइएको छ ।