पर्वत पोर्तेल,
काँकडभिट्टा । लकडाउन उल्लंघन गर्नेहरूलाई राख्न मेचीनगर नगरपालिकाको समन्वयमा एक महिनाअघि अलग्गै क्वारेन्टाइन सञ्चालन गरियो । त्यही क्वारेन्टाइन अहिले लागु पदार्थका दुर्व्यसनीलाई सुधार्ने केन्द्रमा परिणत भएको छ ।

यसरी लकडाउन उल्लंघन गर्नेमा अधिकांश लागु पदार्थका प्रयोगकर्ता भेटिएका थिए । मेचीनगर–८ स्थित आदर्श माविको क्वारेन्टाइनमा प्रहरीको सहयोगमा पक्राउ गरी ल्याइएका यस्ता ३८ जना छन् ।

क्वारेन्टाइनमा राखिएका लागु पदार्थ प्रयोगकर्तालाई स्थानीय तीनवटा सुधार केन्द्रले नियमित प्रशिक्षण गर्दै आएका छन् । नव यात्रा पुनःस्थापना केन्द्रका अध्यक्ष भीम लुइँटेलले भने, ‘क्वारेन्टाइनमा रहेका प्रयोगकर्तालाई मानसिक रूपमा परिवर्तन गराएर समाजमा पुनःस्थापित गर्ने अभियान हो ।’

उनका अनुसार बिहान ६ देखि राति ८ बजेसम्म उनीहरूले गर्ने गतिविधिहरूको तालिका बनाइएको छ । जीवन जिउने तरिकादेखि लागू पदार्थ छाड्ने उपायहरूवारे प्रशिक्षण गराइन्छ ।

‘वैशाख १० देखि यो क्वारेन्टाइनलाई सुधार केन्द्रका रूपमा परिणत गरिएको छ’, इलाका प्रहरी कार्यालयका डीएसपी राजेन्द्र पोख्रेलले भने । उनका अनुसार समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार नै क्वारेन्टाइनलाई सुधार केन्द्रका रूपमा विकास गर्न लागिएको हो । उनले १४ दिनसम्म क्वारेन्टाइनको सुधार केन्द्रमा राख्ने र त्यसपछि आवश्यकताअनुसार थप प्रक्रिया अघि बढाइने बताए ।

पोख्रेलका अनुसार १४ दिनपछिसमेत प्रयोगकर्ताहरूलाई राख्न स्रोतको खोजी भइरहेको छ । मेचीनगर नगरपालिकाले दैनिक प्रतिव्यक्ति ३ सय रुपैयाँ सहयोग गरिरहेको छ । तर, त्यतिले मात्रै पुग्ने अवस्था देखिँदैन ।

‘उनीहरूलाई क्वारेन्टाइनभित्र सीपमूलक काममा सक्रिय गराउने योजना छ’, डिएसपी पोख्रेलले भने, ‘जसवापत उनीहरूलाई निश्चित पारिश्रमिकसमेत व्यवस्था गरिनेछ ।’