झापा । कोरोना सङ्क्रमितको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार बारा र पर्सामा तीन जना कोरोना सङ्क्रमित भेटिएको बताए । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।

तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । आइतबार कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।

सबैभन्दा बढी कोरोना सङ्क्रमित प्रदेश १ मा भेटिएका छन् । झापाका दुईसहित ३१ जना सङ्क्रमितको विराटनगरस्थित कोशी कोभिड अस्पताल विराटनगरमा उपचार भइरहेको छ । २२ हजार नौसय एक जना क्वारेन्टाइनमा छन् । प्रदेश १ मा दुई हजारभन्दा बढी क्वारेन्टाइनमा छन् ।