झापा । अर्जुनधारा जेसीज र बिर्तामोडका युवा व्यवसायीले अर्जुनधारा वडा नम्बर १० लाई आज खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

अर्जुनधारा–१०का विपन्न परिवारलाई लक्षित गर्दै अर्जुनधारा जेसीज शनिश्चरे र बिर्तामोडका दुई जना युवा व्यवसायीले बिहीबार खाद्यान्न सामग्री प्रदान गरेको हो ।

अर्जुनधारा जेसीज शनिश्चरेले दुई क्वीन्टल चामलसँगै ३० केजी दाल र बिर्तामोड–५का युवा व्यवसायीद्वय कृष्णकुमार गिरी र राम सिटौलाले १२ क्वीन्टल चामल समितिलाई प्रदान गरेको हो ।

जेसीजका तर्फबाट अध्यक्ष भास्कर भट्टराई र नेपाल जेसीजका जनसम्पर्क अधिकारी अजय देवले वडाध्यक्ष बलदेवसिंह गोम्देनलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । त्यस्तै, करिब ६० हजार मूल्य बराबरको १२ क्वीन्टल चामल सिटौला र गिरीले वडाध्यक्ष गोम्देनलाई हस्तान्तरण गरेका थिए ।

जेसीजले तेस्रो चरणमा कोरोना भाइरसबाट बच्नका लागि राहतसँगै स्वास्थ्य सामग्री वितरण गरेको हो । हालसम्म अर्जुनधारा जेसीजले लकडाउनका समयमा जम्मा ८५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको महासचिव वसन्त बुढाथोकीले जानकारी दिए ।

पहिलो चरणमा नगरका सञ्चार गृहहरुलाई मास्क र ह्यान्ड सेनिटाइजरसँगै अपाङ्ग तथा बाल शिक्षा सरोकार केन्द्रलाई साबुन र ह्यान्ड सेनिटाइजर वितरण गरेको जेसीजले नगरका विभिन्न चार स्थानमा सामग्रीसहितको हात धुने ठाउँको व्यवस्थापन गरेका थिए ।

त्यसैगरी दोस्रो चरणमा अर्जुनधारा नगरपालिकालाई ९९० केजी चामल वितरण गरेको थियो ।

वडा सदस्य भोला गौतमका अनुसार हालसम्म १० नम्बर वडाका ६२५ परिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिसकिएको छ । थप तीन सय परिवारको लागि वडामा स्टक रहेको उनले जानकारी दिए ।

यसैगरी, वडाका विपन्न परिवारको घरमा चुल्हो नबलेको टोल विकास समितिले सिफारिस गरेपछि तत्काल राहत सामग्री पुराउँदै आएको वडाध्यक्ष गोम्देनले बताए । वडाध्यक्ष गोम्देनको पहलमा १ लाख ५० हजारबराबरको प्रेसर, सुगरको औषधि निशूल्क वितरण गरिएको थियो ।