आनन्द गौतम,
ताप्लेजुङ । शुक्रबार राति फुङलिङ बजारमा भएको आगलागीबाट विस्थापित परिवारलाई फुङलिङ नगरपालिका र रेडक्रस जिल्ला शाखाले राहत वितरण सुरु गरेका छन् । ३७ परिवार आगलागीबाट प्रभावित भएको तथ्यांक तयार भएसँगै राहत प्याकेज तयार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार ८ वटा घरहरु जलेका छन् । ती घरमा व्यापार व्यवसाय गर्ने र भाडामा बस्नेसमेत गरी तीन दर्जन परिवार प्रभावित भएका छन् । तथ्यांक संकलनको काम भइरहेकाले यो संख्या बढ्न पनि सक्ने निरौलाले वताए ।

प्रतिपरिवार २५ किलो चामल, दाल, नुन, तेललगायतका सामग्री नगरपालिका र पाल, कम्बल, भाँडा रेडक्रसले दिने निर्णय शनिबार बिहान बसेको विपद् व्यवस्थापन समितिले गरेको हो । जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेनको संयोजकत्वमा बसेको समितिले दिउँसो २ बजे पुनः बैठक बसेर बास नभएकालाई आवासको व्यवस्थाका बारेमा छलफल गर्ने भएको छ ।

समितिका अनुसार आगलागीबाट नेत्रबहादुर कार्की, खेमराज केसी, चन्द्रप्रसाद निरौला, खड्ग थापा, ठगबहादुर कार्की, नारायण भट्टराई, हस्तमाया लेछर्बो र रामकुमार शाहको घर जलेको छ । यी घरमा रहेका नेपाली कांग्रेस जिल्ला कार्य समिति, जिल्ला फुटबल संघ, अलैंची व्यवसायी संघ, निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) का कार्यलय जलेका छन् । एउटा मनी ट्रान्सफरको कार्यालय पनि जलेको छ । त्यस्तै विभिन्न पसलहरु पनि आगलागीबाट जलेका छन् ।

आगलागीको कारण खुलेको छैन । भण्डारी खाजाघरको नजिकैबाट लागलागी भए पनि ठ्याक्कै ठाउँ पहिचान नभएको उद्योगा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले बताए ।