अम्बिका भण्डारी,
भद्रपुर । कोरोनाको सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा झापामा जङ्गली हात्तीको उपद्रो घटेको छ । बन्दाबन्दीमा घरभित्रै बस्न बाध्य झापावासीले हात्ती पनि जङ्गलभित्रै बस्नुलाई अनौठो संयोग मानेका छन् ।

डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले कोभिड १९ को प्रकोप रोक्न बन्दाबन्दी भएयता जङ्गली हात्तीको गाउँ प्रवेश, बालीनाली क्षति र प्रभाव घटेको बताए ।

‘एक दुईबाहेक हात्ती गाउँ पसेको घटना छैन,’ कार्यालयका प्रमुख घिमिरे जङ्गली हात्तीको त्रास कम भएको बताउँदै भन्छन्, ‘सँधैभरि यस्तै भइदिए हुन्थ्यो भन्ने हाम्रो विगतदेखिकै प्रयास छ, तर लकडाउनका बेला उपद्रो नबढ्नु संयोग मात्र हो कि अरु केही छ भनेर कारण खोज्दैछौं ।’

जिल्ला बन कार्यालयको रेकर्ड अनुसार गत फागुन महिनामा झापाको विभिन्न क्षेत्रमा १९ पटक ५ वटासम्म जङ्गली हात्ती गाउँ पसेर उपद्रो मच्चाएका थिए । तर, बन्दाबन्दी सुरु भएको चैत महिनामा २ पटक र वैशाख महिनाको १५ गतेसम्म ३ पटक मात्र जङ्गली हात्ती गाउँ पसेको रेकर्ड देखिन्छ ।

झापाको जलथल, चारआली, मागुरमाडी र तेलपानी जङ्गलमा ९ देखि ११ वटासम्म रैथाने जङ्गली हात्ती बस्दै आएका छन् । ती हात्तीले नजिकका गाउँवस्तीमा पसेर मान्छेमाथि आक्रमण गर्ने, घर भत्काउने र बालीनाली खाएर नोक्सानी गर्दै आएका थिए ।

चैत र वैशाखमा जम्मा ५ पटक गाउँ पसेको हात्तीले भद्रपुर, हल्दिबारी, विर्तामोड, वाह्रदशी, झापा र मेचीनगरमा सामान्य क्षति पुर्याएको बन कार्यालयले जनाएको छ । बन्दाबन्दीको अवधिमा हात्तीले एउटा घरको झ्याल भत्काएको मात्र विवरण आएको घिमिरेले जानकारी दिए । चैतमा २२ पटक र वैशाखमा १३ पटक बन कार्यालयको गस्ती खटिएको उनले बताए ।

उनले बन्दाबन्दीको अवधिमा झापामा एउटा गौरीगाई बाहुनडाँगीमा र एउटा चित्तल बाह्रदशीमा मृत अवस्थामा भेटिएको जानकारी दिए । जलथल जङ्गल क्षेत्रभित्र हात्तीका दुई वटा बच्चा देखिएको र बाह्रदशीको सामुदायिक वनमा ४५ किलोको घाइते अजिङ्गर फेला परेको उनले बताए ।

हात्ती र मानव द्वन्द्व न्यूनीकरणका क्षेत्रमा लामो समयदेखि क्रियाशील ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की सरकारले बन्दाबन्दी घोषणा गरेपछि शान्तिक्षेत्र जस्तै बनेको जङ्गल क्षेत्रमा मानिसको प्रवेश नहुँदा प्राकृतिक वातावरणमा हात्तीहरु रमाइरहेको बताउँछन् ।

‘जङ्गली हात्तीहरु प्राकृतिक वातावरण रुचाउँछन्, अहिले लकडाउनमा जङ्गल सुनसान छ,’ नेपालकै सबैभन्दा बढी हात्ती प्रभावित क्षेत्र भनेर चिनिएको झापाको बाहुनडाँगीका बासिन्दा कार्की भन्छन्, ‘जसरी अहिले चराचुरुङ्गीहरु रमाइरहेका छन, हात्तीहरु पनि जङ्गलभित्र शान्तिपूर्र्वक बस्न पाउँदा मान्छेको बासस्थानमाथि आक्रमण गर्न आएका छैनन् ।’

यतिबेला झापामा गाउँवस्तीतिर मकैबाली हलक्कै हुर्किएको छ । कतिपय ठाउँमा अगुवा मकै पाकिसकेका छन् भने कतिपय ठाउँमा सुत्ला चेप्न थालिसकेको अवस्था छ । मकै खान रुचाउने हात्ती यसपाली गाउँ नपस्नु अनौठो जस्तै भएता पनि खडेरी नपरी लगातारको वर्षाले जङ्गलभित्र फलेफुलेका विरुवा र कन्दमूल खाएर हात्तीले पेट भरिरहेको हुनसक्ने अनुमान पनि गरिएको छ । रासस