0 Shares

झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा दुई दिनअघि लिइएको नमुना स्वाब संकलनको रिपोर्ट आएको छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतका अनुसार एक महिलासहित ५ जनाको शुक्रबार नमुना स्वाब संकलन गरिएको थियो । तीन जना विदेशबाट आइ होम क्वारेन्टाइन बसेका र दुई जना क्वारेन्टाइनमा बसेका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

उनका अनुसार स्वास्थ्य शाखाले हालसम्म ३१ जनाको आरडीटी परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै, काठमाडौँ र मुलुकका विभिन्न स्थानबाट आएका १४४ जना होम क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै, भारतलगायत ११९ जनालाई होम क्वारेन्टाइनमा राखिएको, उनीहरुमा कुनै समस्या नदेखिएको र होम क्वारेन्टाइनको अवधिसमेत पूरा भइसकेको जनाइएको छ ।

अर्जुनधारा नगरपालिकाले वडा नम्बर ४ मा रहेको हेल्थ पोस्टमा १२ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याइसकेको छ भने ८ नम्बरस्थित शनिश्चरे माविमा ५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको छ ।

नगरपालिकाले आज आयाेजना गरेकाे नियमित प्रेस मिटमा उक्त जानकारी दिइएकाे हाे ।