काठमाडौं । नेपालमा सात वर्षको बच्चामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिनुभयो ।

तर, बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनु भएन ।

नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षका पुरुष गरी १० जनामा आज एकैदिन कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो ।

यसैगरी, नेपालगञ्जमै आइतबार साँझ थप ६ जनामा कोरोना पुष्टि भएको छ।

यो पुष्टि भएसँगै आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, वीरगञ्जमा एक जनामा संक्रमण भएको थियो । यो सँगै संक्रमित संख्या ७५ जना पुगेको छ ।