विराटनगर । प्रदेश १ का ८ जिल्ला रेड जोनमा राख्ने प्रस्ताव गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय सुझावमा यस्तो प्रस्ताव समेटेको छ ।

वैशाख २५ गतेसम्मको लकडाउन सकिने मिति नजिकिएसँगै प्रदेश १ का यी जिल्लाहरूलाई रेड जोन अर्थात् उच्च जोखिममा राखेको छ ।

जसमा सुनसरी, मोरङ, झापा, उदयपुर, इलाम, ताप्लेजुङ, तेह्रथुम र भोजपुर उच्च जोखिममा परेका छन् । यी जिल्ला बाहेक धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा एल्लो जोन अर्थात् आंशिक जोखिममा राखेको छ भने सोलुखुम्बुलाई ग्रीन जोन अर्थात् न्यून जोखिममा परेको छ ।

रेड जोनमा परेका ८ जिल्लामा थप १५ दिनसम्म लकडाउन जारी गर्न उपयुक्त हुने उच्च स्तरीय समितिको सुझाव छ ।समितिले रेड जोनमा परेका जिल्लाहरूमा तत्कालै आरडिटी भन्दा पीसीआर प्रविधिबाट कोरोनाको सङ्क्रमणको टेस्ट थाल्नु पर्ने राय राखेको छ ।

मन्त्री परिषदमा समितिको राय सुझाव पेस हुदैछ ।

अब के हुन्छ ?
उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय सुझावमा रेड जोनमा परेका जिल्ला भित्र रहेका मुख्य सङ्क्रमित स्थानलाई हट स्पट तोकेर पूर्ण लकडाउन पालना गर्ने र त्यस्ता हट स्पटलाई पनि पूर्ण रूपमा सिलबन्दी गर्नुपर्ने उल्लेख छ ।

एल्लो जोनमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने तर रातो क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने छ ।

त्यस्तै ग्रिन जोनमा लकडाउन खुकुलो पार्ने र सामाजिक दुरी कायम हुने गरी गतिविधि जारी राख्ने तर रातो र पहेँलो क्षेत्रबाट यस जिल्लामा प्रवेश निषेध गराउने विषयमा सरकार समक्ष छलफल हुनेछ ।

लकडाउनका विकल्पबारे सुरक्षा निकायले तयार पारेको प्रतिवेदन गृह मन्त्रालय मार्फत उच्चस्तरीय समितिमा पेस गरेको प्रतिवेदनमा प्रदेश १ को यस्तो सुझाव समेटिएको छ ।