झापा । नेपाल-भारतको सीमा नाकामा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका छन् ।
सयभन्दा बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका हुन् । झापा गाउँपालिका ४ स्थित सुकुम्वासी बस्ती नजिकै सोमबार बेलुका पौने ५ बजे सो घटना भएको हो ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बादेखि सात किलोमिटर पूर्व १३१ नम्बर पिलर नजिकै बनाइएको अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीले भारतीय नागरिकलाई समूहलाई खेदाउन हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रेसमकुमार थक्सुले जानकारी दिए ।
उनका अनुसार दुई जना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए । फिर्ता गएका ती दुई भारतीय नागरिकले डेढदेखि दुई सय गाउँले भेला गरी पुनः सीमा लिएर आएका थिए ।
घरेलु हातहतियारसहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्टमाथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए ।
घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र एसपी थक्सुले बताए । यता सीमा हवाई फायर गर्नु परेपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ । नेपालका सुरक्षाकर्मीले भारतीय एसएसबीको समन्वय अहिले सीमा सुरक्षा गरिरहेको बताइएको छ ।