0 Shares

राजु पौडेल,
झापा । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी र भारतीय नागरिकबीच दक्षिणी झापाको सीमा क्षेत्रमा दैनिकजसो तनाव हुन थालेको छ ।

झापामा सीमा सुरक्षार्थ खटिएका नेपाली सुरक्षाकर्मीमाथि सोमबार साझँ मात्रै एक सय ५० जनाभन्दा बढीको संख्यामा आएका भारतीयले आक्रमण गरे । उनीहरुले झापा गाउँपालिका–४ स्थित १३१ नम्बर पिल्लनजिकै बसेको सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेका थिए । घरेलु हतियारसहित आक्रमणमा उत्रिएका भारतीयलाई लखेट्न शसस्त्र प्रहरीले हवाई फायर समेत गरेको थियो ।

त्यस्तै, केही दिन अघि कचनकवल– ४ खुट्टामनीबाट करिब १५ जना भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि विवाद भएको थियो । विवादका क्रममा भागदौड हुँदा एक प्रहरी जवान समेत घाइते भएका थिए ।

सीमामा खटिएका प्रहरीका अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने अधिकाशं भारतीयले नेपालतर्फ खेतीपाती गर्दै आएका छन् । उनीहरुको अहिले मकै पाक्ने समय भएकाले त्यसको रेखदेख गर्न नेपाल छिर्न खोजिरहन्छन् । ‘हामीले देखेको अवस्थामा रोक्छौं’ जिल्ला प्रहरी कार्यालय झापाबाट सिमामा खटिएका एक प्रहरी अधिकृतले भने, ‘त्यहीँ कारण दैनिकजसो विवाद हुन्छ ।’

झापा गाउँपालिकाको टाघनडुब्बास्थित शसस्त्र प्रहरीको ‘बिओपी’ का अनुसार सोमबार पनि नेपाल छिर्न खोज्ने कृषकका कारण नै तनावको स्थिीत सिर्जना भएको हो । ‘नेपालतर्फ ट्याक्टर र थ्रेसर प्रवेश गराएर यता छिर्न खोज्ने २ जनालाई रोकेका थियौँ’ शसस्त्रका असई केदार श्रेष्ठले भने, ‘पछि एक डेढ सय मानिस आएर आक्रमण गरेपछि हवाई फायर खोलेका हौँ ।’

मंगलबार भने भारतीय सीमा सुरक्षा बल एसएसबीका किसनगञ्जका प्रमुख र नेपालका तर्फबाट झापाका प्रदेश सांसद हिरा थापासहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र राजनीतिक दलका प्रमुखहरुबीच सो घटनाका बारेमा छलफल भएको छ ।

सुरक्षामकर्मीमाथि आक्रमण प्रयास गर्ने भारतीय नागरिक र भारत तर्फका सुरक्षा निकाय, प्रशासन लगायतले माफी मागेपछि मुख्य संलग्नलाई भारतीय प्रशासनले कारवाही गर्ने सर्तमा छोडिएको जिल्ला समन्वय समिति झापाका प्रमुख तथा जिल्ला स्तरीय कोरोना रोकथाम तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

‘पछिल्ला घटनाक्रमले लकडाउनलाई भारततर्फ नागरिकस्तरबाट गरिनुपर्ने सहयोग पर्याप्त देखिएन’ पोर्तेलले भने, ‘त्यसका लागि हामीले त्यताका सुरक्षाकर्मी र जनप्रतिनिधीलाई आवश्यक ध्यान दिन भनेका छौँ ।’