0 Shares

झापा । कोरोना भाइरसको संक्रमणबाट बच्न र नियन्त्रणमा लिनका लागि सरकारले लागु गरेको लकडाउनले विपन्न परिवारलाई जीविकोपार्जन गर्न गाह्रो परिरहेको बेला सहयोगी हातहरु अघि बढिरहेका छन् ।

लकडाउनले पीडामाथि पीडा दिइरहेको विपन्न परिवारलाई सहयोग पुगोस् भनेर दाताहरुले अर्जुनधारा वडा नम्बर ६ लाई नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।

अर्जुनधारा ६ स्थित सानो संसार हाउजिङका तर्फबाट १४ सय ५० केजी चामल, १७५ केजी दाल, ८७ लिटर तेल र १५५ केजी नुन वडा कार्यालयलाई उपलब्ध भएको छ ।

विपन्न परिवारका लागि भनेर स्थानीय निर्माण व्यवसायी निरेन राजवंशीले ५० हजारबराबरको ४ सय केजी चामल, १२० लिटर तेल, ७५ केजी दाल र १५० केजी नुन वडाको राहत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको वडा सदस्य अर्जुन मेचेले बताए ।

उनका अनुसार स्थानीय पशुपति कीर्तन मण्डलीले ३५० केजी चामल प्रदान गरेको छ । यसैगरी स्थानीय व्यवसायी राजकुमार कार्कीले ३ सय केजी चामल वडालाई हस्तान्तरण गरेका छन् ।

त्यस्तै, जग्गा व्यवसायी लालबहादुर समालले २५ हजार र समाजसेवी चन्द्र मगरबाट १० हजार नगद सहयोग भएको वडाध्यक्ष लोकनाथ गौतमले जानकारी दिए । विपन्न परिवारका लागि सहयोग गर्ने सबैमा वडाध्यक्ष गौतमले धन्यवाद दिएका छन् ।