अर्जुनधारा (गढी) । विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाइरस)को महामारीबाट बच्नका लागि नेपाल सरकारले गरेको लकडाउनमा कुनै पनि परिवार भोकै बस्नु नपरोस् भनी सहारा नेपाल साकोसको अगुवाईमा ‘एकका लागि एक’ अभियान सुरू भएपछि सेवाकेन्द्र शनिश्चरेले आज अर्जुनधारा ७ मा राहत वितरण गरेको छ ।

यसरी सञ्चालन गरेको अभियानले दैनिकरूपमा खोलामा गिटी ढुङ्गा चालेर गुजारा चलाउने, सुत्केरी साथै फरक शारीरिक अवस्था भएका अर्जुनधारा–७ स्थित १५ परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल, हात धुने साबुन र नुहाउने साबुन वितरण गरिएको छ ।

वडाध्यक्ष नवराम ढुङ्गाना (नवीन)ले ‘एकका लागि एक’को प्याकेजले कोही भोकै बस्नु नपर्ने अवस्था सिर्जना गरेको बताए । राहत प्रदानपछि वडाध्यक्ष ढुङ्गानाले यस्तो असजिलो परिस्थितिमा वडा नं ७ मा आएर सेवाको भावना बढाइदिएको हुँदा स्थानीय निकायलाई ठुलो सघाउ पुगेको साथै सहारा नेपाल साकोसले यो विपद्को घडीमा महान कार्य गरेको भन्दै धन्यवाद दिएका थिए ।

शनिश्चरे शाखा प्रबन्धक लक्ष्मीप्रसाद रिजालले कोही पनि भोकै बस्नु नपरोस् भनी केन्द्रबाट जारी अभियान यहाँसम्म ल्याएको जानकारी गराए ।

कार्यक्रममा वडा सदस्य सन्तोष नेम्बाङ, देवकुमार राई, नेपाल रेडक्रस सोसाईटीका अर्जुनधाराका सभापति पुन्यप्रसाद भट्टराई सहारा नेपाल साकोस शनिस्चरे सञ्चालन सहयोग समिति सदस्य गीता अधिकारी, कर्मचारी रेवत ओझा, अञ्जना कार्की, सुस्मा सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

यो अभियान अन्तर्गत झापामा एक हजार जनालाई राहत दिने सोच राखी शुरू गरिएको भए पनि सहयोगी मनहरू बढेका कारण अब २ हजारभन्दा बढीलाई दिने लक्ष्य रहेको बताइएको छ ।

आगामी दिनमा झापा बाहिरका जिल्लामा पनि वितरण गरिने शनिश्चरे शाखाका प्रबन्धक रिजालले जानकारी दिए । सहारा नेपालले यस अभियानको संयोजन गरेको छ भने नेपाल रेडक्रस झापा, जिल्ला सहकारी झापा, गैरसहकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता महासंघ, वीरता जेसीज, रोटरी क्लब बिर्तामोड, राष्ट्रिय सहकारी बैक, लायन्स क्लब सुरुङ्गा, नेप्लीज टिन्स्, जेसीज पूर्व अध्यक्ष समाज झापा, लायन्स क्लब बिर्तामोड, बिर्तामोड उद्योग वाणिज्य संघ, मेची पेट्रोल डिलर एसोशिएसन र सहारा नेपाल बचत तथा सहकारी संस्था लगायत १६ संघसंस्था संलग्न छन् ।