0 Shares

ताप्लेजुङ । झापा जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठ ताप्लेजुङ जिल्लाका प्रहरी प्रमुख भएका छन् । ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र फुयाल एसपीमा बढुवा भएपछि रिक्त ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारीमा झापामा कार्यरत श्रेष्ठलाई पठाइएको हाे ।

पदभार ग्रहणसँगै प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले ताप्लेजुङमा पटक-पटक दोहोरिरहने आगलागीका घटना न्युनिकरणका लागि योजनावद्धरुपमा काम गर्ने बताएका छन् ।

हालै सरुवा भई ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका डिएसपी श्रेष्ठले बुधबार जिल्लास्थित सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै यस जिल्लामा हुने आगलागी लगायत दैवी प्रकोपका घटना न्यु्नीकरणमा विशेष ध्यान केन्द्रित गर्ने योजना रहेको दाबी गरे ।

आपराधिक घटना न्युनीकरण र अपराध गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य संग–संगै दैवी प्रकोपका घटना न्युनीकरणमा समेत सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्ने बताए । ‘यो जिल्ला आगलागी, बाढीपहिरो जस्ता घटनाको हिसाबले उच्च जोखिमा रहेको पाईएकाले प्रहरीको भूमिका यस प्रकारका घटनाको न्यूनीकरणमा समेत केन्द्रित हुन्छ’, उनले भने ।

यस्तै आपराधिक घटना घटाई वर्षौदेखि फरार रहेकाहरुको खोजतलास एवम अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने कार्य पनि आफ्नो प्राथमिकतामा रहको उनको भनाइ थियो । दुई छिमेकी मुलुकसंग सीमा जोडिएको यस जिल्लामा चोरी सिकारीका घटनाहरु प्रसस्तै हुने अनुमान आफुले गरेको र यसलाई पनि नियन्त्रण गर्नेमा केन्द्रित हुने बताए ।

शान्ति सुरक्षा कायम गर्न प्रहरीको मात्रै भूमिकाले नपुग्ने भन्दै यसमा सघाउन यहाँका राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसस्था, बुद्धिजीवी लगायत सबैमा आग्रह समेत गरे।