राजु पौडेल,
झापा । कोरोना नियन्त्रणका लागि सीमामा खटिएका सुरक्षाकर्मीको अवस्था बिजोग छ । खुला सीमाका कारण एकातर्फ आवातजावत रोक्नु मुख्य जिम्मेवारी छ भने अर्कोतर्फ ड्युटीमा खटिदा समस्या नै समस्या ।

सीमामा कोरोनाविरुद्ध फ्रन्ट लाइनमा बसेर काम गरिरहेका सुरक्षाकर्मीको अवस्था भने निकै जोखिपूर्ण रहेको छ । खुला सीमाबाट आवतजावत गर्ने मानिसलाई रोक्न खटिएका प्रहरी चैत अन्तिम साताबाट पालमुनि छन् ।

झापा दक्षिणपश्चिममा गौरीगन्जदेखि पूर्वोत्तर मेचीनगरको तिरिङसम्म १४४ दशमलव दुई किलोमिटर खुला सीमा छ । झापाको खुला सीमामा १३२ सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी पोष्ट छ । तीमध्ये ३२ ठाउँमा नेपाल प्रहरी, ३९ ठाउँमा सशस्त्र र ५७ ठाउँमा संयुक्त पोस्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सीमामा खटिएका सुरक्षाकर्मी त्रिपाल र टेन्ट टाँगेर बसेका छन् । यी अस्थायी पोस्टमा करिब १५ सय सुरक्षाकर्मी खटाइएको छ । सीमामा आवतजावत रोक्न खटिएका सुरक्षाकर्मी हावाहुरी र बर्षामा रुझ्दै ड्युटी गर्न बाध्य छन् । दिउँसोको चर्को गर्मी, रातको भीषण हावाहुरी तथा पानीको प्रवाह नै नगरी सुरक्षाकर्मी देशको सिमामा खटिएका छन् ।

‘अहिले पानी र हावाहुरीले समस्या गराएको छ । कतिपय अस्थायी टहरामा पानी पसेर बस्न पनि समस्या भएको छ,’ जिल्ला प्रहरी कार्यालय झापाबाट सीमामा खटिएका प्रहरी निरीक्षक ब्रह्मदेव शाहले भने, ‘समस्या भए पनि हामीले हाम्रो जिम्मेवारी पूरा गर्नतर्फ लागेका छौँ ।’

दशगजा पारी रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) स्थायी संरचना र हतियारसहित सिमानामा हुदा नेपालतर्फका सुरक्षाकर्मी भने खुला आकाशमै भए पनि लठ्ठीको भरमा अहोरात्र सीमामा खटिएका छन् । अनेकौँ डर र चुनौतीका बाबजुत पनि उनीहरु रातदिन खटिएका छन् ।

पूर्वको नेपाल–भारतको सिमाना मेची नदीको बगरमा नै बसेर सुरक्षाकर्मी ड्युटी गरिरहेका छन् । तर, यस्तो प्रतिकूल अवस्थामा सीमा सुरक्षाको जिम्मेवारी पाउँदा उत्साह थपिएको बताउँछन् शसस्त्र प्रहरी बल नम्बर १ गण इलामबाट सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाई ।

‘हामीले इलामको दक्षिणपूर्वी भारतीय सीमा क्षेत्र मेची नदीमा बसेर ड्युटी गरिरहेका छौँ’, उनले भने, ‘दिनभर खोलामा ड्युटी गरेर माथि सलकपुर क्षेत्रतिर बस्छौँ, समस्या भए पनि जनताको सेवामा खटिएका छौँ ।’

पछिल्ला केही दिनयता सीमामा खटिएका सुरक्षाकर्मीमाथि भारतीयको आक्रमण समेत हुन थालेको छ । यसरी थोरै जनशक्तिका बाबजुत पनि सुरक्षाकर्मीले सीमामा कोरोना रोकथामका लागि काम गरिरहेका छन् । यस्तो विषम परिस्थितिमा सुरक्षाकर्मीप्रति सम्बन्धित निकायहरु गम्भीर हुनुपर्ने देखिन्छ ।