नरेश गुरुङ,
झापा । देशमा लकडाउनको ४९औं दिन गुज्रिरहेको छ । ज्यालादारी मजदुरी गर्ने मजदुर यतिबेला सहयोगको आपेक्षा गरिरहेका छन् । उनीहरूको दैनिकी ठप्प भएको छ ।

सरकारले स्थानीय तह नगरपालिका, गाउँपालिका मार्फत एकद्वार प्रणाली लागू गरेको छ । दोस्रो चरणको राहत वितरण गरिंदैछ । तर, पाएको राहतले मात्रै उनीहरूलाई पर्याप्त छैन । जसका कारण विभिन्न सहयोगी संस्था, मनकारी व्यक्ति लगायतले स्वेच्छाले राहत बाँडिरहेका छन् ।

झापामा पनि विभिन्न संघसंस्था, व्यक्ति, समूह नै परिचालन भएर स्फुर्तरूपमा ज्याला मजदुरी गर्ने विपन्न परिवारको पहिचान गरी घर घरमै पुगेर राहत वितरणमा रातदिन लागि परिरहेका छन् ।

यसैबीच, अर्जुनधारा ९ का विपन्न परिवारलाई आइतबार स्थानीय युवाको पहलमा राहत वितरण गरिएको छ । तेक्वान्दोका राष्ट्रिय खेलाडी दिपेन धिमालको पहलमा वडाका विपन्न २२ परिवारलाई खाद्यान्न वितरण गरिएको हो । २१ वर्षीय धिमाल विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागी हुने गरेका छन् ।

उनलाई विभिन्न क्रियाशील सहयोगी संघसंस्था, व्यक्ति लगायतले राहत जुटाउन सहयोग पुर्याएको बताए। आइतबार आफ्नै घरको आँँगनमै आफ्ना वडाका २२ विपन्न परिवारका प्रतिनिधि भेला गरेर खाद्यान्न वितरण गरेका थिए ।

यस्तो संकटको बेला ज्यालादारी गर्ने विपन्न परिवारलाई सहयोग गर्न पाउँदा खुशी भएको उनी बताउँछन् । राहत वितरणमा वडा ९ का वडा सदस्य हरिमाया दाहाल, सामाजिक अभियन्ता संन्जय राई, विनोद लामा, आशिष मैनाली, किरण गुरूङ, भिसन लिम्बू लगायतको उपस्थिति रहेकोे थियो ।