पर्वत पोर्तेल,
काँकडभिट्टा । लकडाउनका बीच झापाका १५ वटै पालिकाले सामाजिक दूरीलगायत सुरक्षा मापदण्ड अपनाएर विकास निर्माणलाई अघि बढाएका छन् । ती पालिकाले सामान्य टालटुलेदेखि करोडौं बजेटका ठूला योजना सुरु गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा भ्युटावर निर्माण तीव्र गतिमा भइरहेको प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जनाए । ‘सामाजिक दुरी कायम गरेर भ्युटावरको काम भइरहेको छ’, उनले भने । त्यहाँ अन्य योजनाका काम भने अघि बढाइएको छैन । देशकै गौरवको योजना भएकाले भ्युटावर नरोकिएको नगरले जनाएको छ ।

मेचीनगर नगरपालिकामा मेचीनगर–२ र ४ जोड्ने २ हजार ६ सय ६० मिटर सडकको निर्माण धमाधम भइरहेको छ । नगरपालिका र नेपाल सरकारको समपूरक कोषको करिब ७ करोड ४४ लाख रुपैयाँ लागतमा सडक बन्दै छ । भृकुटीस्थित भानु माध्यमिक विद्यालय पूर्वबाट राइसिङ पुलसम्मको सडक कालोपत्र, कल्भर्ट र नाली निर्माण कार्य भइरहेको नगरपालिकाका प्रशासकीय अधिकृत महेन्द्रकुमार खामम्याङले जानकारी दिए ।

इन्जिनियर इन्द्र खड्काका अनुसार वडा नम्बर ९ देखि १५ सम्मका ३ सय ५ मध्ये २ सय ३८ योजना लकडाउन अघि र केहीपछि सम्झौता भई सम्पन्न भइसकेका छन् । बाँकी ६८ वटाको काम धमाधम भइरहेको छ । अधिकांश योजना पुल, कल्भर्ट, बाटोलगायत रहेको उनले जानकारी दिए ।

बहुप्रतिक्षित बिर्तामोड–भद्रपुर सडक निर्माणको काम जारी छ । करिब ५ किलोमिटर सडक चिल्लो बनाउने र डिभाइडरको काम तीव्र गतिमा भइरहेको डिभिजन सडक कार्यालय दमकका इन्जिनियर चन्द्रेश्वर साहले जनाए । उनले मजदुर अभावका कारण मेसिनरी कामलाई बढी प्राथमिकता दिइएको बताए ।

बिर्तामोड नगरपालिकाले सानाभन्दा ठूलाखाले योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । नगरको योजना तथा कार्यक्रम शाखाका वरिष्ठ अधिकृत जय तिम्सिनाले वडा नम्बर ४ को अन्धुवा खोलामा दुईवटा कल्भर्ट निर्माण भइरहेको जनाए । सामुदायिक स्कुलका भवनसमेत नगरले निर्माण गरिरहेको छ ।

गौरीगन्ज गाउँपालिकाका प्रशासकीय अधिकृत प्रविन दाहालले पालिकाहरूको गत १६ गते सम्पन्न बैठकपछि विकास निर्माणका काम सुरु गरिएको जनाए । उनका अनुसार गाउँपालिकाले पुल, कल्भर्ट, भवन आदि योजनामा काम गरिरहेको छ । पालिकाले तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत आवास निर्माण, छहारीचोक–जनता चोक जोड्ने सडकलाई तीव्रता दिएको छ ।

गौरादह नगरले तराई–मधेस समृद्ध कार्यक्रमअन्तर्गतका योजना, गौरिया, रामचन्द्रे खोला तटबन्धसँगै नहर निर्माण सुरु गरेको छ । नगरप्रमुख रोहितकुमार साहले अन्य साना बजेटका योजनासमेत सुरु गरिएको जनाए ।

कोरोना संक्रमणपछिको लकडाउनका कारण विकास निर्माणलाई नरोक्ने सरकारको निर्णय अनुसार काम थालिएको उनको भनाइ छ । कन्काई नगरपालिकाले ग्यास प्लान्ट निर्माण गरिरहेको छ । कन्काईसहित छिमेकी नगरहरू बिर्तामोड र अर्जुनधाराको संयुक्त लगानीमा ग्यास प्लान्ट बनिरहेको हो ।

मितेरी पुल पनि धमाधम
नेपाल–भारत सीमा छुट्टयाउने मेचीनदीमा निर्माणाधीन मितेरी पुलले समेत दुई साताअघिबाट कामलाई तीव्रता दिएको छ । लकडाउनका कारण करिब एक महिना निर्माण रोकिएको थियो ।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैंक ९एडीबी० को करिब डेढ अर्ब भारु ऋण सहयोगमा भारतले ६ लेनको पुल निर्माण गर्दै छ ।

निर्माण कम्पनीका अनुसार हाल पुलमै काम केन्द्रित छ । पुलसँगै नेपालतिर करिब आधा किलोमिटर पहुँच मार्गसमेत निर्माण गर्नुपर्नेछ । कम्पनीले पहुँच मार्गका लागि मेचीनगरसँग अनुरोध गरिसकेको छ ।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेचीमा ‘मितेरी पुल’ निर्माणकोसम्झौता गरेका थिए । पुल ६ सय ७५ मिटर लामो र ६ लेन चौडा हुनेछ । कान्तिपुरबाट