आनन्द गौतम,
ताप्लेजुङ । चीनले टिप्ताला भन्ज्याङ नाकाका सीमावर्ती बासिन्दालाई खाद्यसँगै स्वास्थ्य सामग्री सहयोग गरेको छ । चिनियाँ टोलीले सोमबार सीमामै आएर पीपीई, थर्मल गन, मास्कसँगै चामल, पिठोलगायत खाद्य सामग्री उपलब्ध गराएको हो ।

ओलाङचुङगोला र याङमाका बासिन्दालाई टाउको गनेर प्रतिबोराका दरले चामल र मैदाको पिठो आएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले बताए । त्यस्तै घरधुरीका हिसाबले नुन, चिनी र दूध पाउडर पनि आएको छ ।

नेपालसँग जोडिएको डिङजे काउन्टीले उपलब्ध गराएको सामान चिनियाँ टोलीले टिप्ताला भन्ज्याङसम्म ल्याइदिएको छ । सामग्री बुझ्न वडाध्यक्ष र वडा सदस्यसहितको टोली सिमानासम्म पुगेको थियो ।

प्रवक्ता वालुङका अनुसार चीनले २ सय ५३ बोरा चामल र त्यत्तिकै परिमाणमा पिठो दिएको छ । प्रत्येक बोरा २५ किलोको छ ।

गोलामा ५३ र याङ्मामा १० घर छन् । प्रहरी चौकी, स्वास्थ्य चौकी र आधारभूत विद्यालयसमेतका लागि ६५ बोरा नुन–चीनी र ६५ कार्टुन दूध पाउडर र खाने तेल आएको छ । ‘उनीहरूले ट्यांकरमा ल्याएर सिमानामा जिम्मा लगाए,’ वालुङले भने, ‘सिमानादेखि ओलाङचुङ र याङमाका बासिन्दाले आफैंले बोकेर ल्याउनुपर्छ ।’

त्यहाँबाट गाउँसम्म आउने सडक हिउँले अवरुद्ध भएकाले प्रत्येक घरधुरी आफैंले गएर ल्याउने कि के गर्ने भन्ने छलफल भइरहेको उनले बताए ।

स्वास्थ्य सामग्रीअन्तर्गत १० थान पीपीई, ५ थान थर्मल गन र २ सय ५३ थान एन–१९ मास्क रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । स्वास्थ्य सामग्री गाउँपालिकाको कार्यालयमा ल्याइने वालुङले जानकारी दिए ।

प्रत्येक वर्ष हिउँ बिलाएपछि सीमावर्ती बासिन्दा खाद्य सामग्री खरिद गर्न चिनियाँ बजार जान्छन् । कोरोनाका कारण सिमाना बन्द भएकाले अहिले नियमित आउजाउ छैन । त्यसैले पनि चिनियाँले सहयोग गरेको वालुङले बताए । सिमानादेखि गोलाको बस्तीसम्मको दुरी २४ किलोमिटर छ ।

याङमा गोलाभन्दा टाढा छ । ‘यो खाद्यान्नले पुग्दैन,’ वडाध्यक्ष शेर्पाले भने, ‘अब सिमाना खुलाउन अनुरोध गरेर फेरि वर्षदिनका लागि खाद्यान्न ढुवानी गर्नुपर्छ ।’ कान्तिपुरबाट