0 Shares

झापा । कोरोना भाइरस नियन्त्रणका लागि सरकारद्वारा जारी लकडाउनलाई अर्जुनधारा नगरपालिकाले कडारुपमा पालना गराउन विभिन्न निर्णय गरेको छ ।

बुधबार बसेको नगरपालिकाको सर्वपक्षीय बैठकले लकडाउनलाई नगरमा पूर्णरुपमा पालना गराउन गरिएका निर्णय सार्वजनिक गर्न बुधबार साँझ पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

मुलुकमा ५१औ दिनदेखि लकडाउन जारी छ । भोलि बिहीबारदेखि अर्जुनधारा नगरपालिकाले लकडाउनलाई कडा गर्ने भएको हो । यसअघि बजार तथा सवारी साधन सञ्चालनमा केही खुकुलो पारिए पनि बिहीबारदेखि पूर्णरुपमा बन्देज लगाइने निर्णय भएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

आगामी जेठ ५ गतेसम्म अत्यावश्यक सेवासम्बन्धि कामकाज बाहेक अन्य कामकाजका लागि आवागमन बन्द गर्ने निर्णय भएको छ । यस अवधिमा सबै किसिमका पसल, सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ ।

स्वास्थ्य कार्यालयबाहेक नगरपालिकाको पनि अत्यावश्यक शाखामात्र सञ्चालनमा आउने बताइएको छ । यसअघि नगरपालिकाले निर्माण सामग्री ढुवानीका लागि अनुमति दिएका सबै सवारी साधन र त्यस किसिमका सञ्चालन सवारी पास पनि आज साँझको मितिबाट रद्द गरिएको नगर प्रमुख रानाले जानकारी दिए । नगरको निर्णय उल्लंघन गरिएको पाइएमा निर्धारित जरिवाना लगाइने भएको छ ।

तर, जेठ ६ गतेबाट लागु हुने गरी नगरले छुट्टा छुट्टै सडक तोकेर निर्माण सामग्री ओसार पसार गर्न सकिने पनि जनाएको छ ।

नगरपालिकामा अत्यावश्यक सेवा सम्बन्धि कामकाज बाहेक अन्य प्रयोजनका लागि अन्य स्थानीय तहहरुबाट आवातजावत गर्न सवारी साधन सञ्चालनका लागि साप्ताहिकरुपमा सडकहरु मात्र प्रयोग गरिने निर्णय गरिएको छ ।

पहिलो हप्ता शहीद राजन गिरी मार्ग, दोश्रो हप्ता चारपाने नारायण चौक सडक, तेश्रो हप्ता शनिश्चरे विर्तामोड सडक र चौथो हप्ता शनिश्चरे सालवाडी बुट्टाबारी सडक खण्ड प्रयोजन गरिने भएको छ ।

त्यसैगरी निर्माण कार्य सम्बन्धि कामकाजका लागि लकडाउनको समयमा अन्य स्थानीय तहहरुबाट आएका मजदुरहरुलाई उनीहरुको स्थायी ठेगानामा फिर्ता पठाउने, नगरपालिकाको योजना सञ्चालन सम्बन्धि प्रशासनिक कामकाजलाई व्यवस्थित गर्नका लागि उपभोक्ता समितिले आवश्यक कागजात सम्बन्धित वडा कार्यालयमा बुझाउने र वडाका जनप्रतिनिधिले नगरपालिकामा पेश गर्ने र टोल सुरक्षा सम्बन्धि कार्यलाई थप प्रभावकारी बनाउनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुका शिक्षकहरुलाई समेत परिचालन गरिने निर्णय भएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

यसैबीच, लकडाउनका समयमा अनावश्यकरुपमा घरबाहिर निस्केर हिँडडुल नगर्न प्रहरीले अनुरोध गरेको छ । लकडाउनका अवधिमा सवारी साधन सञ्चालन गरे कारबाही गरिने प्रहरी चौकी शनिश्चरेका इन्चाजृ घनश्याम पाण्डेले बताए ।

उनका अनुसार सवारी साधनलाई नियन्त्रणमा लिनुका साथै अनावश्यकरुपमा हिँडडुल गरे फेरि २ घण्टा सडकमै उभ्याइने भएको छ ।