0 Shares

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४५ पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४५ पुगेको हो ।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यसअघि बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको थियाे ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलालीमा ४, रौतहट र बारामा ३-३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २-२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक-एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।