पाँचथर । पश्चिम नेपालमा नेपाली क्षेत्रमा नै भारतले अधिपत्य जमाईरहेको समयमा पूर्वी सिमाना पनि कब्जा गरेको खुलेको छ ।

पूर्वी सीमा अन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी) ले कब्जा गरेको हो ।

उक्त स्थान पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको वेष्ट बंगालसँग सिमाना जोडिएको क्षेत्रमा पर्छ । पछिल्लो समयमा सार्वजनिक भएको नक्सा बमोजिम सीमाक्षेत्रको नेपाली भूमि भारतमा परेको भन्दै एसएसबीले कब्जा जमाएको छ ।

फालेलुङ गाउँपालिकाका प्रवक्ता जीबन राईका अनुसार एसएसबीले सो क्षेत्र कब्जा गरेको जानकारी पाउन साथ उनीहरु सँग गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ नेतृत्वको टोलीले वार्ता गरे पनि उनीहरुले सो क्षेत्र छाड्न मानेका छैनन् ।

सीमा स्तम्भ भन्दा करिब चार सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको राईले जानकारी दिए । एसएसबीले कब्जा गरेको जमिनमा एउटा जंगे पिल्लर र तीन ओटा सीमा स्तम्भ छन् ।

एसएसबीले नियन्त्रणमा लिएको जमिनमा नेपाली नागरिकले एउटा होटल र एउटा गोठ सञ्चालन गरेका छन् । गोठ र होटल पनि एसएसबीकै नियन्त्रणमा रहेको बताइएको छ ।