बिर्तामोड । स्थानीय तहबाट दिन दिनै लकडाउन कडा पार्दै लगे पनि स्थानीयले अटेर गर्न थालेपछि सुरक्षाकर्मीले बिहीबारदेखि फेरि नियन्त्रणमा लिन थालेको छ ।

अनावश्यकरुपमा हिँडडुल गर्ने, बिना कारण सवारी साधन चलाउने व्यक्तिलाई सशस्त्र प्रहरीले आज अर्जुनधारा ११ स्थित बसपार्क क्षेत्रमा १ घण्टा उभ्याएको छ । सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पबाट खटिएको टोलीले करिब १५० जनालाई उभ्याएर सम्झाइ बुझाइ घर पठाएको सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टले जानकारी दिए ।

उनका अनुसार करिब ४० देखि ४५ जनाका दरले तीन पटक अनावश्यकरुपमा हिँडडुल गर्ने व्यक्तिलाई घेरामा उभ्याएको थियो ।

अर्जुनधारा नगरपालिकाले आजदेखि लागु हुने गरी जेठ ५ गतेसम्म लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको थियो । जसमा सवारीसाधनसँगै अनावश्यकरुपमा सडकमा निस्कने व्यक्तिलाई कडाइ गर्न थालिएको हो ।