काठमाडौ । बूढालीकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सो क्षेत्रमा सिल गरिएको छ ।
वैशाख ३० गते सर्लाहीबाट मोटरसाइकलमा काठमाडौं आएका चारमध्ये एक युवतीलाई कोरोना पोजेटिभ देखिएपछि उनको ट्राभल हिस्टी केलाउने काम थालिएको नगरपालिकाका प्रमुख मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए ।
‘बैशाख ३० गते सर्लाहीको रामपुरबाट मोटरसाइकलमा चार जना काठमाडौं आएका रहेछन् । उनीहरु बुनपा १२ तेन्जिग चोकमा बस्ने रहेछन् । उनीहरु आएको थाहा पाएपछि स्थानीयले हल्लाखल्ला गरेर प्रहरी र जनप्रतिनिधि समेत बोलाएपछि चारै जनालाई प्रहरीले टेकु लगेर पीसीआर टेष्ट गराएको थियो ।
तर, चारमध्ये शनिबार एक जनामा मात्रै पोजेटिभ आयो’, मेयर खरेलले भने, ‘पोजेटिभ रिपोर्ट आउने १८ वर्षीया युवती हुन् ।’ उनीहरु चारै जना एकै परिवारका भएको बताइएको छ ।

तेन्जिग चोकमा उनीहरुकोे फर्निचर पसल रहेको छ । कोरोना पोजेटिभ रहेकी युवतीलाई टेकुु र अन्यलाई फर्निचर पसलमै क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । फर्निचर पसलमा उनीहरु चारमध्ये अन्य २ जना पनि छन् । अन्य दुई जनाको पनि कोरोना परीक्षणको तयारी भइरहेको मेयर खरेलले जानकारी दिए ।
लकडाउनका बेला उनीहरू कसरी सर्लाहीदेखि काठमाडौ आए ? भन्ने खोजीको विषय भएको भन्दै मेयर खरेलले उनीहरुको ट्राभल हिस्ट्रीलगायत अन्य कन्ट्याक्क ट्रेसिङको काम सुरु भएको जानकारी दिए ।
कपन प्रहरी चौकीका प्रमुख शेखरजंग मल्लले अहिले तेन्जिगचोक आसपास आइतबार सिल गरिएको जानकारी दिए । उनले पोजेटिभ देखिएकी युवतीसँगै काठमाडौ आएका अन्यको पुनःपरीक्षणका लागि चिकित्सक बोलाउने तयारी भइरहेको जानकारी दिए । राताेपाटीबाट