0 Shares

झापा । कोरोना भाइरस नियन्त्रणका लागि सरकारद्वारा जारी लकडाउनलाई अर्जुनधारा नगरपालिकाले कडारुपमा पालना गराउन निर्णय गरेको आज ५ दिन पूरा भएको छ ।

वैशाख ३१ गते बसेको नगरपालिकाको सर्वपक्षीय बैठकले लकडाउनलाई नगरमा पूर्णरुपमा पालना गराउन जेठ ५ गतेसम्म सवारीसाधन र सबै पसल सञ्चालनमा पूर्णरुपमा बन्देज लगाइने निर्णय भएको नगर प्रमुख हरिकुमार रानाले बताएका थिए ।

आज जेठ ५ गतेसम्म अत्यावश्यक सेवासम्बन्धि कामकाज बाहेक अन्य कामकाजका लागि आवागमन बन्द गर्ने निर्णय भएको हो । यस अवधिमा सबै किसिमका पसल, सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ ।

निर्णयअनुसार स्वास्थ्य कार्यालयबाहेक नगरपालिकाको पनि अत्यावश्यक शाखामात्र सञ्चालनमा आएको थियो । तर, जेठ ६ गतेदेखि नगरको निर्णयमाथि हेरफेर गर्दै केही खुकुलो बनाइने नगर स्रोतले न्यूज सञ्जाललाई जानकारी दिएको छ ।

स्रोतका अनुसार नगर क्षेत्रमा निश्चित अवधि तोकेर पसलहरु सञ्चालनमा आउनेछन् भने कोरोना भाइरस संक्रमणबाट बच्न विभिन्न सावधानी अपाउन अनिवार्य गरिने छ ।

त्यस्तै यसअघि नगरपालिकाले निर्माण सामग्री ढुवानीका लागि अनुमति दिएका सबै सवारी साधन र त्यस किसिमका सञ्चालन सवारी पास पनि वैशाख ३१ गते साँझको मितिबाट रद्द गरिएको नगर प्रमुख रानाले जानकारी दिएका थिए ।

तर, जेठ ६ गतेबाट लागु हुने गरी नगरले छुट्टा छुट्टै सडक तोकेर निर्माण सामग्री ओसार पसार गर्न सकिने पनि जनाएको थियो । सोहीअनुरुप नगरले निश्चित सडक तोकेर आवत तथा जावतका लागि खुकुलो बनाइने भएको छ ।

यसको आधिकारिक निर्णय भने अर्जुनधारा नगरपालिकाले पत्रकार सम्मेलनमार्फत सोमबार दिउँसो जानकारी दिने भएको छ ।