झापा । कोभिड १९ प्रकोप रोकथामका लागि अर्जुनधारा नगरपालिकाले नगरभित्र भोलि (जेठ ६ गते)देखि लागु हुने गरी पसल तथा सवारीसाधन सञ्चालनसम्बन्धी नयाँ अवधारणा सार्वजनिक गरेको छ ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा हिजो आइतबार बसेको सर्वपक्षीय बैठकबाट पारित निर्णयलाई आज सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
सर्वपक्षीय भेलाबाट नगरभित्र रहेका पसल सञ्चालनका लागि खाद्यान्न र अन्य व्यवसाय रहेकालाई बार तोकिएको छ भने निर्माण सामग्री, खाद्य समाग्री ढुवानीका लागि आउने र जाने छुट्टै सडक र जोर बिजोरको मापदण्ड तोकिएको छ ।
बिर्तामोडबाट अर्जुनधारा क्षेत्र प्रवेशका लागि पनि छुट्टै सडक तोकिएको छ । सोझै बिर्तामोडबाट शनिश्चरे बजार प्रवेश पाइने छैन । त्यस्तै, माइ नगरपालिकाबाट बिर्तामोड आउने सडक पनि अलगै तोकिएको छ । यस्तो छ विवरण :
नाका सञ्चालन गर्ने सम्बन्धमा
अन्यत्रबाट अर्जुनधारा नगरपालिकामा हुनेअत्यावश्यक सेवा सञ्चालन सम्बन्धि बाहेक अन्य किसिमको आवात जावतलाई व्यवस्थित गर्नका लागि ६ गतेबाट अर्जुनधारा नगरपालिकाका देहायानुसारका नाकाहरु विहान ७ बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन गर्ने ।
नगरपालिका भित्रिने नाकाहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा टोल सुरक्षा सहजीकरण समितिका सदस्यहरुलाई परिचालन गरी सम्बन्धित वडा कार्यालयको व्यवस्थापनमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्ने ।
माई नगरपालिकाबाट भित्रिने सवारीसाधनका लागि सुखानी-दुर्गापुर तथा लक्ष्मीपुर-मदनपुर सडक सञ्चालन गर्ने ।
खाद्यान्न, सागसब्जी तथा निर्माण सामाग्री विक्री वितरण गर्ने पसलहरु विहान ७ बजेबाट ११ बजेसम्म सञ्चालन गर्ने।
आउनका लागि
माता मन्दिर प्रणामी मन्दिर सडक र शहीद राजन गिरी मार्ग
बाहिर जानका लागि
चारपाने नारायण चौक सडक र सालबाडी बुट्टाबारी सडक
बार तथा सवारी साधनको प्रकार
आइतबार : कृषि, खाद्यान्न तथा निर्माण सामग्री (रड, सिमेन्ट आदि) ढुवानी गर्ने सवारी साधन
सोमबार र मंगलबार : नदिजन्य सामग्री ढुवानी गर्ने जोर नम्बर भएका सवारी साधन
बुधबार : कृषि, खाद्यान्न तथा निर्माण सामग्री (रड, सिमेन्ट आदि) ढुवानी गर्ने सवारी साधन
बिहीबार र शुक्रबार : नदिजन्य सामग्री ढुवानी गर्ने बिजोर नम्बर भएका सवारी साधन
होल्डिङ सेन्टर सम्बन्धमा
अन्यत्रबाट अर्जुनधारा नगरपालिकामा आउने व्यक्तिहरुलाई राख्नका लागि नगरपालिकाले निर्माण गरेको ५० बेडको क्वारेन्टाइनको बेड संख्या वृद्धि गरी १०० बेडको होल्डिङ सेन्टर निर्माण गर्ने । उक्त सेन्टरमा रहने व्यक्तिहरुका लागि आवश्यक खाद्यान्न सामग्री तथा कुकको खर्च व्यवस्थान नगरपालिकाको रोगबाट हुने प्रकोप व्यवस्थापन कोषबाट व्यहोरी अर्जुनधारा जलेश्वर धामको समन्वयमा व्यवस्थापन गर्ने ।
बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धमा
लकडाउनको समयमा बैंक तथा वित्तीय संस्थाको सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थामा हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै सार्वजनिक विदाको दिनबाहेक प्रत्येक दिन विहान १० बजेबाट १ बजेसम्म पर्याप्त सुरक्षा सतर्कताका उपायहरु अवलम्बन गरी सञ्चालनका गर्न आवश्यक व्यवस्था मिलाउने ।
नगर प्रमुख रानाको अध्यक्षतामा बसेकाे सर्वपक्षीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापा, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय अनारमनी तथा सशस्त्र प्रहरी बलका प्रमुख, वडा अध्यक्षहरु, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे ।