विराटनगर । यहाँका एक औषधि व्यवसायीको आफ्नै श्रीमतीको योजनामा हत्या भएको खुलेको छ । सुनसरीको इटहरी–१२ घर भइ विराटनगर, मधुमारामा देवी पाथिभरा फार्मेसी सञ्चालन गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या श्रीमतीकै योजनामा भएको खुलेको हो ।
गत जेठ ४ गते उनी कोठामा बेहोस भेटिएको भनेर उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जानकारी पाएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
हत्या भएको आशंका गर्दैै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । त्यसक्रममा आफ्नै श्रीमतीको योजनामा दुलालको हत्या भएको खुलेको हो ।
अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङ, प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूहका प्रहरी खटिएका थिए । हत्यामा उनकी श्रीमती मीना श्रेष्ठ दुलालको संलग्नता पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
मीनाले विराटनगर महानगरपालिका–४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने २१ वर्षीय ब्रहमदेव साह र २० वर्षीय सोनु साहसँग मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
दुलालको जेठ ३ गते राति नै हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मीनाले ब्रहमदेव र सोनुलाई घरबा राति बोलाएर सुतिरहेका श्रीमानको घाँटी डोरीले बाँधेर हत्या गराएको पाइएको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
बिहानपख श्रीमान अचेत भएको भन्दै छिमेकीलाई बोलाएर उनले उपचारका लागि अस्पताल लैजाने बहाना बनाएको प्रहरीले पत्ता लगाएको छ । प्रहरीले हत्या योजना र घटनास्थलमा प्रयोग भएका केही सामान बरामद गरेको छ ।
नाइलनको डोरी, सर्जिकल पन्जा, चारवटा मोबाइल, शरीरमा लगाइने पाउडरका बट्टा जस्ता सामान प्रहरीले बरामद गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । कान्तिपुरबाट