झापा । पूर्वी सीमावर्ती क्षेत्रमा १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किन पाउने आशामा प्रतिक्षारत छन् । लकडाउन लम्विदै जाँदा उनीहरु सीमावर्ती क्षेत्रमा आइपुगेका हुन् । भारतले रेल सञ्चालनमा ल्याएपछि सीमासम्म आइपुग्ने नेपालीको संख्या बढ्दै गएको छ ।

झापा गाउँपालिकाले भारतको बिहार राज्यबाट नेपाल प्रवेशको पर्खाइमा रहेका नेपालीको उद्धार गरेको छ । भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छोडिदिएका ४७ जना नेपालीलाई उद्धार गरी खाना व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

भारतको किसनगञ्जबाट बसमा ल्याएर सोमबार साँझ उनीहरुलाई सीमामा छाडिएको थियो । गाउँपालिकाका अध्यक्ष साहले भोकभोकै आएका नेपालीलाई गाउँपालिकाले खानाको प्रवन्ध मिलाएको बताए । उनीहरुलाई जिल्ला कोराना रोकथाम तथा समन्वय समितिले तय गरेको होल्डिङ सेन्टरमा पठाइएको छ ।

उद्दार गरिएकामध्ये झापाका स्थानीय तहले आ–आफ्ना नागरिकलाई लगेका छन् । मोरङ, तेह्रथुम, उदयपुर, पाँचथर लगायत अन्य जिल्लाका मानिसलाई झापाको भद्रपुरस्थित मेची क्याम्पसमा निर्माण गरिएको होल्डिङ सेन्टरमा लगिएको छ ।

दुई दिनअघि ३२ जना झापा गाउँपालिकको नाका भएर नेपाल प्रवेश गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार सीमाबाट भित्रिने नेपालीका लागि मेचीनगर, कनकाई र भद्रपुरमा होल्डिङ सेन्टर बनाइएको छ ।

सोही नाका भएर नेपाल भित्रिएका अर्जुनधारा ६ का एक युवालाई अर्जुनधारा नगरपालिकाले सम्पर्कमा लिएर क्वारेन्टाइनमा राखेको छ । उत्तर प्रदेशको कानपुरबाट आएका उनलाई नगरको स्वास्थ्य टोलीले क्वारेन्टाइनमा राखेको हो ।

त्यस्तै, रातारात भारतको पश्चिम बंगालबाट पूर्वी नाका काँकरभिट्टा प्रवेश गरेका अर्जुनधारा ७ का एक युवालाई पनि क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका अनुसार भारतको सिलिगुडीमा रहेका २३ वर्षीय युवक पानीटंकी नाकाहुँदै नयाँ मेची पुलबाट मंगलबार बिहान काँकरभट्टिा आएका थिए । उनलाई काँकरभिट्टास्थित नेपाल प्रहरीले नियन्त्रणमा लिइ स्वास्थ्य शाखामा सम्पर्क गरिएको थियो । नेपाल प्रहरीको समन्वयमा उनलाई क्वारेन्टाइनमा राखिएको हो ।

यस्तै, भारतको दार्जीलिङ जिल्लाको खर्साङ नजिकको बस्ती दूधेबाट एक पुरुष अर्जुनधारा ६ स्थित एक घरमा आएको खबर पाएसँगै स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा राखेको स्वास्थ्य शाखा प्रमुख बस्नेतले न्यूज सञ्जालाई जानकारी दिए ।