झापा । धनकुटा जिल्लामा तीन स्वास्थ्यकर्मीसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि जिल्ला अस्पताल आसपासको क्षेत्र सिल गरिएको थियो भने ८३ जनाको स्वाब परीक्षणको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो ।

राति ९ बजेसम्मको परीक्षण रिपोर्ट अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्वाबको केही नमुनाको परीक्षण अझै बाँकी छ । तसर्थ, पोजेटिभ रिपोर्टको संख्या बढ्नसक्ने सम्भावना पनि छ । संक्रमित मध्ये ३ जना अस्पतालकै स्वास्थ्यकर्मी हुन् भने १ जना स्वास्थ्यकर्मीका परिवार सदस्य हुन् ।

अर्का एक जना संक्रमित व्यक्ति अस्पतालको सुरक्षाकर्मी (गार्ड) भएको पनि अधिकारीले जानकारी दिए ।