मोरङ । धनकुटा र धरानमा गरी बुधबार साँझ थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाका एक र धरानका जनामा संक्रमण पुष्टि भएको हो । यसअघि झापाको केचनाका ५ जनामा संक्रमित पुष्टि भएको थियो । यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ ।

प्रदेश १ मा पहिलोपटक गत बैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएको थियो । महिना बित्दा यो प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केचनाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी धरान र धनकुटाका एक–एक जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको मन्त्रिपरिषद कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ ।

पछिल्लोसहित धनकुटामा संक्रमितको संख्या सात पुगेको छ । झापामा संक्रमित १७ जना पुगेका छन् । धरानमा पहिलोपटक एक जनामा संक्रमण पुष्टि भएको हो ।

तीन दिनअघि धनकुटा जिल्ला अस्पतालकी एक नर्समा संक्रमण पुष्टि भएको थियो । उनीसँग सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गर्दा यसअघि पाँचजनामा संक्रमण पुष्टि भएको थियो ।

धनकुटाबाट ८३ जनाको स्वाब परीक्षणका लागि धरान पुर्‍याइएको थियो । अरुको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ का उदयपुरमा ३३, झापा १२, धनकुटा ७, मोरङ ३, सुनसरी ४, भोजपुर १, र खोटाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।