झापा । बिहीबार विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार झापामा बुधबार साँझ यता थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै झापामा मात्र संक्रमितको संख्या २७ पुगेको छ। स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाहरु सबैको रिपोर्ट बुधबार साँझ र बुधबार राति दुई पटक आएको थियो ।

सबै झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु हुन्। प्रदेश १ मा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै धरान र धनकुटामा पनि एक एक जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान ६:५० बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको हो।

झापा, धनकुटा र धरानका नमुनाहरूमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ। नयाँ सङ्क्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एक जना पुरुषमा र धरानकी एकजना महिलामा सङ्क्रमण पुष्टी भएको बताइएको छ।

नयाँ सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सङ्क्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका विज्ञप्तिमा जनाइएको छ।