इलाम । पूर्वी सीमापारि दार्जिलिङ क्षेत्रबाट आएर बसिरहेका नेपालीहरुलाई नेपाल प्रवेश गराइने भएको छ । दार्जिलिङ, मिरिकलगायत आसपास क्षेत्रमा रहेका नेपालीलाई जाँचसहित नेपाल आउन दिइने भएको हो ।

त्यसक्षेत्रबाट आएकाहरु पशुपतिनगर नाकापारि बसेका छन् । त्यसरी आएकामध्ये दुई सयजनालाई पहिलो चरणमा प्रवेश गराइने भएको हो ।

सूर्योदय नगरपालिकाका अनुसार दार्जिलिङ र आसपास क्षेत्रमा कामका लागि बसेका धेरै नेपाली छन् । उनीहरु घर आउन चाहेका छन् । लकडाउनका कारण उतै रोकिएको अवस्थामा उनीहरु घर फर्कने प्रयास गरिरहेका छन् ।

नेपाल प्रवेश गराएर ‘होल्डिङ एरिया’मा राखिने नगरपालिकाले जनाएको छ । त्यसरी आएकाहरुको सुरुमा आरडीटी र पछि पीसीआर परीक्षण गरिने छ ।

केही समय होल्डिङ एरियामा राखेपछि सम्बन्धित जिल्ला पठाइने भएको छ । सीमापारि रामेछाप, तेह्रथुम, दोलखालगायत जिल्लाका मानिसहरु कामका लागि जाने गरेका छन् । कान्तिपुरबाट