पर्वत पोर्तेल,
काँकडभिट्टा । मेचीपारि अलपत्र करिब ५ सय बढी नेपाली घर फिर्न नपाउँदा तीन दिनदेखि भोकै छन् । उनीहरु भारतको पानीट्यांकी क्षेत्रमा सडक पेटीमा रात काट्न बाध्य छन् ।
भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा गत साता हजार बढी नेपालीलाई ‘लुकिछिपी’प्रवेश दिइएको थियो । तर, तीन दिनयता त्यसरी आउन समेत नपाएपछि उनीहरु अलपत्र बनेका हुन् । ‘तीन दिनदेखि भोकै छौ’,नाकामा अलपत्र नुवाकोटका सन्जोग थापाले फोनमा भने,‘ मर्ने अवस्था भइसक्यो, सरकारले हाम्रो कुरा सुनेन ।’ मेचीपारि झापासहित विभिन्न जिल्लाका नेपाली घर फर्किने आशामा भौतारिरहेका छन् ।
मेचीपारि अलपत्रलाई प्रवेश दिने विषयमा सोमबार अपरान्ह इलाका प्रहरी कार्यालय काँकडभिट्टा परिसरमा प्रदेशका सांसद, जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व र सुरक्षा संयन्त्रबीच सर्वपक्षीय छलफल भएपनि अलपत्रलाई सोमबार साँझ प्रवेश दिइने कुरामा सहमति जुट्न सकेन ।
‘उनीहरुलाई मंगलबारदेखि मात्रै प्रवेश दिने निर्णय भएको छ’, मेचीनगरका मेयर विमल आचार्यले भने, ‘अलपत्र नेपालीले मुलुक फर्किन पाउनु पर्छ, व्यवस्थित गर्ने जिम्मा हामी सबैको हो ।’
उनीहरुलाई वैधानिक बाटोबाट भने ल्याइने छैन । ‘लुकिछीपी’ प्रवेश गराएर क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिने छ । झापाका लाई विभिन्न पालिकाहरुको क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिने छ । भने जिल्ला बाहिरका लाई सम्बन्धित जिल्ला पठाइने छ । कान्तिपुरबाट