झापा । झापाका कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । दैनिक रुपमा संक्रमितको संख्या थपिएको हो । विहीवार मात्रै झापामा थप २५ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनाका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले विहीवार आयोजित पत्रकार सम्मेलनमा झापाका १६ देखि ४२ वर्ष उमेर समूहका २५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

यसअघि झापामा ५४ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । नयाँ संक्रमित थपिएपछि झापामा संक्रमितको संख्या ७९ पुगेको छ । सबैभन्दा बढी संक्रमित झापाको कचनकवल गाउँपालिकाका हुन् ।

कचनकवलमा मात्रै संक्रमितको संख्या ७३ पुगेको छ । कचनकवलमा बुधबार मात्रै जानकी मावि क्वारेन्टिनका १५ जनामा संक्रमण फेला परेको थियो । गाउँपालिकाले १ सय ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

कचनकवलका ६ वटा क्वारेन्टिनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका छन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ३ सय ५० भन्दाबढी नेपाली आइसकेका छन् ।

झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरादह नगरपालिकामा दुई दुई जना र झापा गाउँपालिका र दमक नगरपालिकामा एक एकजना संक्रमित भेटिएका थिए । बाह्रदशी र दमकका संक्रमित निको भएर घर फर्किसकेका छन् ।