झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २२ जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पुराइएको छ ।

शनिश्चरे माविको भवनमा रहेको क्वारेन्टाइनमा ३८ जना रहँदै आएका थिए । त्यसमध्ये भारतबाट आएका २२ जना र तीन जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाइँदा रिपोर्ट नेगेटिभ आएको थियो ।

जसमा ६ जना महिलासहित २५ जनाकै रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बिहीबार नै स्वास्थ्यकर्मीको टोलीले घर घरै पुराएको छ ।

क्वारेन्टाइनमा राखिएको व्यक्तिलाई राम्रो व्यवस्थापन गरेको उनीहरुको भनाइ थियो । खाना, खाजा, पिउने पानी, सुत्ने व्यवस्था सबै राम्रो भन्दै उनीहरुले नगरपालिको प्रयास उदाहरणीय ठानेको बताएका छन् ।

क्वारेन्टाइनबाट घर फर्किन लागेका नगरका नागरिकलाई अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले विदाइसहित स्वास्थ्य लाभको कामना गर्न क्वारेन्टाइन आएका थिए । उनीसँगै अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत उपस्थित थिए ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घरै पुराएर बाँकी १४ दिन होम क्वारेन्टाइनमा बस्न सुझाइएको शाखा प्रमुख बस्नेतले बताए । आफ्नो स्वास्थ्यको ख्याल गर्दै परिवारसँग दूरी कायम गर्न सम्झाइएको उनको भनाइ छ ।

हेर्नुहोस् भिडियो