राजेन्द्र गौतम,
झापा । भारतबाट मेची पुलमा आएका नेपालीलाई आरडिटी, पिसिआर र ज्वरोसमेत जाँच नगरी विभिन्न क्वारेन्टाइन र होल्डिङ एरियामा राखिदा झापामा कोरोना संक्रमणको जोखिम उच्च भएको छ।

पूर्वी सीमा नाकाबाट नेपाल आउने र भारत जाने मानिसको भीड बढेसँगै मेचीनगर, अर्जुनधारा, बिर्तामोड, शिवसताक्षी, दमक लगायतका क्षेत्रमा कोरोना संक्रमणको जोखिम उच्च बनेको हो।

कोरोनाको जाँच नै नगरी दिनैपिच्छे नेपाल आउने र भारत जाने मानिसको संख्या बढेसँगै जोखिम बढेको काँकरभिट्टाका स्थानीयको दुःखेसो छ।

भारतसँगै सीमा जोडिएको भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकामा संक्रमण देखिसकेको छ। काकरभिट्टा नाका र कुञ्जीबारी नाकाबाट गौरादह ९ का युवामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ।

‘हाम्रो नगरपालिकाको सीमा भरतसँग जोडिएको छैन, त्यसले हामी सुरक्षित छौं भन्ने लागेको थियो’, गौरादह( ९ का वडाध्यक्ष कृष्ण गौतमले भने, ‘सीमाबाट उद्दार गरिएकाको स्वास्थ्य जाँच गर्न सकिएन भने समस्या जटिल बन्ने देखियो।’

भारतबाट पानीट्याङ्की नाका हुँदै मेचीपुल आएका नेपाली नागरिक तथा पश्चिम नेपालदेखि भारत हिडेका सयौँ भारतीयका कारण पूर्वी नाका काँकरभिट्टा झन् बढी कोरोनाको जोखिममा परेको छ। ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले एकहप्तामा करिव २ हजार भन्दाबढी नेपाली नागरिक भारतबाट आएको बताए।

बिहिबार दिउँसो मात्र करिब २ सय जना नेपालीलाई मेची पुलबाट सम्बन्धित जिल्लाको क्वारेन्टाइन पठाइएको उनले जानकारी दिए। मानिस आइरहेकाले आजको संख्या अहिले नै यकिन नहुने डिएसपी पोखरेलको भनाइ छ।

हिजो बाँकी रहेका नेपालीलाई काँकरभिट्टा माविको होल्डिङ यरिया, आदर्श मावि ईटाभट्टा तथा धाइजनको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको डिएसपी पोखरेलले बताए। उनीहरूलाई मेचीनगरपालिकाले खानाको व्यवस्था गरेको छ।

सीमामा आउनेलाई जिल्ला प्रशासन कार्यालय झापाबाट सवारी पास इमेलमार्फत प्रहरीलाई पठाएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउने गरिएको छ।

भारत जानेहरू काँकरभिट्टा बसपार्क र भारतबाट आउने नेपाली मेचीपुलमा अलपत्र पर्ने गरेका छन्। निसंक्रमण बिना नै दैनिक सयौँ भारतीय मालबाहक गाडी नेपाल भित्रिरहेकाले पनि संक्रमणको जोखिम उच्च बनेको स्वास्थ्य सम्बद्धहरूको भनाइ छ।

कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले भारतबाट आउने १ नम्बर प्रदेश बाहेकका जिल्लाका नागरिकलाई सम्बन्धीत क्वारेन्टाइनमा बस्ने गरीको पत्र दिएर पठाउने गरिएको उनले बताए।

उनका अनुसार प्रदेश १ का नागरिकलाई भने झापाका पालिकाहरूको क्वारेन्टाइनमा राख्ने गरिएको छ।

‘भारतबाट आउने नेपालीहरूले नाकामा नाराजुलुस लगाउन थालेपछि भित्राउन थालिएको हो,’ संयोजक पोर्तेलले भने, ‘उनीहरूको पीसीआर र आरडिटी सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा टेष्ट गर्ने गरी पठाइने गरेको छ।’

झापामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ। यद्यपि, सीमामा चेकजाँच गर्ने कुरामा कसैको ध्यान जान सकेको छैन। सीमामा आउनेको धमाधम उद्दार गरिएको र क्वारेन्टाइनमा राखिएको बताइए पनि अवस्था टिठ लाग्दो छ। हेल्थपोष्ट नेपालबाट