सुनसरी । कोरोना संक्रमितलाई भर्ना गर्न नमानेपछि विवादमा तानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रदेश सरकारले गल्ती दोहोरिए ठीक नहुने चेतावनी दिएको छ ।

संवेदनशील अवस्थामा पनि प्रतिष्ठानले हेपाहा व्यवहार देखाएपछि प्रदेश सरकारले कमजोरी नदहोरिने वातावरण मिलाउन चेतावनी दिएको हो ।

झापाको कचनकवलबाट शुक्रवार साँझ धरान पठाइएका कोरोना भाइरसका २७ जना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन अस्वीकार गरेको थियो । प्रतिष्ठानको कार्यशैली ठीक नभएको भन्दै प्रदेश सरकारले गल्ती दोहोरिए ठीक नहुने चेतावनी दिएको हो । प्रतिष्ठानले छिर्न नदिएपछि झापाका ती संक्रमितले अस्पतालबाहिर रात बिताएका थिए ।

संक्रमितले खुला ठाउँमा शौच गर्नु पर्ने अवस्था सिर्जना भएको थियो । प्रतिष्ठानको चरम लापरवाही देखिएपछि प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे शनिवार विहानै अस्पताल पुगेका थिए । उनले अविलम्व कोरोना संक्रमित भर्ना गर्न निर्देशन दिएपछि प्रतिष्ठानले बिहान ९ बजे उनीहरुलाई प्रवेश दिएको थियो ।

मन्त्री जीवन घिमिरेले अस्पतालसँग संक्रमित भर्ना नलिनुको कारण र भएको कमजोरीको विषयमा जानकारी मागेका छन् । उनले आगामी दिनमा कमीकमजोरी नदोहोरिने वातावरण मिलाउन निर्देशन पनि दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीसँगै निर्देशकहरुलाई निर्देशन दिँदै मन्त्री घिमिरेले यसप्रकारको घटना पुनः दोहरिए कारबाही गर्ने चेतावनी दिए ।

यसअघि प्रतिष्ठानका उपकुलपति डा। गिरीले विपीको कोभिड उपचार केन्द्रमा १ सय ५० वेड तयारी अवस्थामा रहेको बताएका थिए । प्रदेश १ मा हालसम्म १ सय ५८ संक्रमित मध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३४ जना र धरानमा ९४ जना उपचाररत रहेका छन् ।