भद्रपुर। भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा अस्थायी कोरोना उपचार अस्पताल बनाउने निर्णयप्रति जनस्तरबाट उठेको विवाद साम्य भएको छ ।

भद्रपुरमा गठित कोरोना अस्पताल नागरिक सरोकार समाजले मेची अस्पतालको निर्माणाधीन भवनमै कोरोना अस्पताल बनाउँदा डब्लुएचओले तोकेको मापदण्ड अनुसार बनाएमा कुनै आपत्ति नहुने बताएपछि जनस्तरबाट उठेको विवाद साम्य भएको हो । विवाद साम्य भएसँगै मेचीकै निर्माणाधीन भवनमा कोरोना अस्पताल बन्ने निश्चित भएको छ ।

मेची अस्पतालको निर्माणाधीन भवनमा समाजले आइतबार दिउँसो संक्षिप्त पत्रकार भेटघाट गर्दै अस्पताल वरिपरि संक्रमण फैलिने त्राससँगै मेची अस्पतालमा आउने विपन्न परिवार सेवा लिनबाट वञ्चित हुने निष्कर्ष निकाल्दै जनस्तरबाटै आवाज उठेको प्रस्टाए । तर, जनस्तरबाटै उठेको आवाजलाई राजनीतिकरण गरेर गठित समाजप्रति आरोप लगाउन कामले दुःखी तुल्याएको समाजका संयोजक भक्त खवासले बताए ।

जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण समितिले सर्वपक्षीय छलफलबाटै मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसीआर परीक्षणको प्रयोगशाला बनाउन निर्णय गरेको थियो ।

उक्त समितिले स्थानीयस्तरमा छलफल नगरी एकलौटी ढङ्गले निर्णय गरेपछि अस्पताल आसपासका स्थानीयले त्यसको विरोध गरेका थिए । विरोध गर्दै स्थानीयको एक भेलाले समाज गठन गरेका थिए ।

समाजले भद्रपुरमै कोरोना अस्पताल बनाउनु बाहेक अन्य विकल्प नरहेको संयोजक खवासले बताए । त्यस्तै ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले अधुरो भवनमा कोरोना अस्पताल बनाउँदा वरिपरि संक्रमण फैलिने सम्भावना देखेर नै जनस्तरबाटै आवाज उठेको हो ।

तर, काँग्रेसले विरोध गरेको भन्दै व्यापक आलोचना गरियो, यसलाई राजनीतिकसँग जोड्नु भन्दा पनि संवाद र छलफलबाटै टुङ्गाउनु पर्र्थो उनले भने ।

पत्रकार भेटघाटनमा ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा, भद्रपुर नगरपालिकाका पूर्व मेयर भारतेन्दुकुमार मल्लिक, मेची अस्पतालका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारी, डा पृथ्वीविक्रम राई, तोयानाथ गडतौला लगायतले कोरोना अस्पतालको नाममा विपन्न परिवारलाई सरकारी सेवा लिनुबाट वञ्चित पार्नु हुँदैन ।

संक्रमण फैलिन नदिन आवश्यक जनशक्ति र थप पूर्वाधार निर्माण गरिनुपर्छ । साथै कोरोना अस्पताल बनाउँदा हाल निर्माण भइरहेको काम पनि रोकिनु हुँदैन, उनीहरू भन्छन् । हाल जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ ।

उनीहरूलाई उपचारका लागि धरान र विराटनगर लगिएको छ । त्यहाँ पनि उपचारका लागि बेड नहुँदा थप समस्या भइरहेको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको र उपचारमा समस्या भइरहेकोले भद्रपुरमै कोरोना अस्पताल बन्दा यहाँका सङ्क्रमितलाई राहत पुग्नेछ ।