बिर्तामोड । विराटनगरस्थित कोशी अस्पतालको पीसीआर परीक्षण गर्ने मेसिन बिग्रिएपछि झापामा स्वाब नमुना संकलन रोकिएको छ ।

कोसी अस्पतालमा रहेको पीसीआर मेसिन आइतबार राति बिग्रिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले जानकारी दिए ।

झापा प्रदेश १ मै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जिल्ला हो । भारतबाट दैनिकजसो मानिसहरू आइरहेका छन् । यसरी आउनेलाई क्वारेन्टाइनमा राखी स्वाब नमुना पीसीआर परीक्षणका लागि पठाउने गरिएको छ ।

तर, प्रदेशमा रहेको मेसिन बिग्रिएको खबरले द्रुत गतिमा भइरहेको स्वाब नमुना संकलन कार्यमा रोकावट आएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए ।

सोमबार गौरीगन्ज, मेचीनगर, बाह्रदशी, बुद्धशान्तिलगायत अधिकांश पालिकामा स्वाब संकलन रोकिएको उनले जानकारी दिए । ‘विराटनगरको पीसीआर मेसिन बिग्रिएको खबर आएको छ, त्यसैले तत्काललाई स्वाब नमुना संकलन रोकेका हौं,’ चम्लागाईंले भने ।

उनका अनुसार यसअघि नै जिल्लाबाट पठाइएका ६ सय नमुनाको रिपोर्ट आउन बाँकी छ । कान्तिपुरबाट