झापा । लकडाउनका कारण नेपालको सिमावर्ती क्षेत्रमा अलपत्र परेका भारतीय नागरिकलाई सोमबार विहानबाट पूर्वको काँकरभिट्टा नाकाहुँदै भारत पठाउन शुरु गरिएको छ ।

आइतबार साँझ र सोमबार विहान काँकरभिट्टा आइपुगेका नेपालीभाषी तथा भारतीय नागरिकहरुलाई मेचीपुल हुँदै भारत पठाइएको हो । त्यस्तै दैनिक जसो झण्डै एकसय नेपालीलाई पनि सिमाक्षेत्रबाट उद्धार गरि नेपाल ल्याइदै आएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि दुवै मुलुकमा गरिएको लकडाउनका कारण पूर्वी नेपालका बिभिन्न स्थानमा अलपत्र परेर बसेका करिब ३ सय भारतीय नागरिकलाई नेपाल प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा भारत पठाएको हो ।

दुवै देशका सीमावर्ती क्षेत्रमा रहेका प्रहरी प्रशासनको समन्वयमा मेची नदी हुँदै उनीहरुलाई भारततर्फ पठाइएको छ । सोमबार भारतको आसाम, मणिपुर र सिक्किम राज्यका नागरिकहरुलाई मात्र भारत छिर्न दिएको बताईएको छ । भारतको पश्चिम बंगाल र विहारका नागरिकहरुलाई भने भारतीय प्रहरीले मेची पुलबाट छिर्न दिएको छैन ।

पछिल्लोसमय नेपाल–भारतबीच भएको आन्तरिक सहमति अनुसार लकडाउन अवधिभर एक देशले अर्को देशका नागरिकलाई आ–आफ्ना मुलुकमा सहजरुपमा व्यवस्थापन गर्ने उल्लेख थियो । सोही सहमती अनुरुप दुवै देशमा रहेका नागरिकलाई स्वदेश फर्काइँदै आइएको छ ।

नेपाल आउनेको तुलनामा भारत जानेको संख्या बढी छ । पछिल्ला दिनमा भारतबाट दैनिकजसो झण्डै १ सय नेपाली मेची पुलबाट उद्दार गरी नेपाल ल्याइदैछ ।

हाल सम्म करिब ३ हजार नेपालीलाई सिमावर्ती क्षेत्रबाट उद्धार गरिसकिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।

सिमावर्ती क्षेत्रमा अलपत्र परेर नेपाल ल्याइएका नेपालीहरुलाई स्थानीय तहले आवश्यक व्यवस्थापन मिलाएको छ । खाना र गन्तव्य स्थानसम्म पुर्याउन विभिन्न संघसंस्था र जिल्ला समन्वय समिति र प्रशासन कार्यालय झापाले व्यवस्थापन गरेको छ ।