काँकडभिट्टा । सुनसरीका आशा भट्टराई र सुनैना बस्नेत व्यापारिक कामको सिलसिलामा लकडाउनअघि नै दिल्ली पुगेका थिए । फर्किने बेलामा भारत र नेपाल दुवैतिर लकडाउन सुरु भइसकेको थियो । अन्ततः दिल्लीमै अलपत्र परे ।

दुई महिनाभन्दा बढी समय दिल्लीमा बिताएका उनीहरु सोमबार पूर्वी नाकाबाट घर फर्किए । ‘आज बिहान दिल्लीबाट बागडोगरासम्म जहाज चढेर आइपुगेका हौं,ु आशा भट्टराईले भनिन्, ‘कतिबेला घर पुगूँजस्तो भएको छ ।’

विमान सेवा सञ्चालनपछि आशा र सुनैनाजस्तै धेरै नेपाली विमानबाटै घर फर्किन थालेका छन् । बस र रेल सेवासँगै भारतले गत सोमबारदेखि विमान सेवासमेत सञ्चालन गरेपछि भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन सहज भएको छ । अहिले नेपालीको चाप सीमा नाकामा झन् बढ्दै गएको छ ।

पश्चिम बंगालको बागडोगरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालकै सबभन्दा नजिकको भारतीय विमानस्थल हो । पूर्वी सिमाना काँकडभिट्टाबाट यसको दुरी करिब २० किलोमिटरमात्रै छ । विमान सेवा सञ्चालनसँगै पश्चिम जिल्लाका नेपालीहरु समेत पूर्वी नाकाबाटै आउन थालेका छन् ।

‘विमान चढ्न सक्नेहरु विमान र नसक्नेहरु बस र रेलमा नेपाल फर्किरहेका छन्’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भने, ‘पूर्वी नाकामा दिनदिनै भिड बढ्न थालेको छ ।’

विमान सेवा सञ्चालन भएयता यो नाकाबाट करिब ५ हजार नेपाली स्वदेश फर्किएका छन् । कान्तिपुरबाट