विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेकामध्ये प्रदेश १ का ४८ जना निको भएर डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये अब १ सय १९ जना आइसोलेसनमा उपचाररत छन् । प्रदेश १ का १४ मध्ये ९ वटा जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । ती जिल्लामा गरी १ सय ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ ।

पछिल्लोपटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ जना डिस्चार्ज भएका हुन् । यसअघि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रबाट विभिन्न मितिमा गरी ३० जना डिस्चार्ज भइसकेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बीपी प्रतिष्ठानबाट डिस्चार्ज हुनेमा झापाका १७ जना छन् । सुनसरीकी एक महिला पनि डिस्चार्ज गरिएकी हुन् । पछिल्लो पटक गरिएको स्वाब नमुना परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रदेश १ मा संक्रमण पुष्टि भएकाको संख्या १ सय ६७ छ । संक्रमितमध्ये अब ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र ३९ जना विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको रेखदेखमा राखिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ का १४ मध्ये ९ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । झापा, उदयपुर, धनकुटा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश भारतबाट आएका व्यक्तिहरु छन् ।

भारतबाट आएकाहरुमा संक्रमण पुष्टि हुनेक्रम बढेसँगै नाकाबाट ल्याएर क्वारेन्टाइनमा राख्ने र जाँच गर्ने गर्न थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कान्तिपुरबाट