झापा । झापामा बुधबार थप एक जनामा कोरोना पुष्टि भएको छ। कमल गाउँपालिका १ बस्ने १८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोभिड अस्पताल धरानमा गरिएको परीक्षणमा ती युवामा कोरोना पुष्टि भएको हो। उनी भारतबाट विराटनगर नाका हुँदै स्वदेश फर्किएका थिए।

सहिद धर्मभक्त माविको क्वारेन्टाइनमा बसेकाको उनको स्वाब संकलन गरी धरान पठाइएको थियो। उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

प्रमुख जिल्ला अधिकारी उदय रानामगरका अनुसार उनलाई उपचारका लागि धरान पठाउने तयारी भइरहेको छ। योसँगै जिल्लामा संक्रमितको संख्याको ११६ पुगेको छ।

झापाको क्वारेन्टाइनमा बसेका ताप्लेजुङ र पाँचथरका चार जनामा संक्रमण देखिएको छ। योसँगै झापामा संक्रमितको संख्या जोड्दा १२० पुगेको छ।

बुधबारसम्ममा झापाका १५ मध्ये ९ स्थानीय तहमा कोरोना भाइरस फैलिसकेको छ। कचनकवल गाउँपालिकामा एक सय जना, बाह्रदशी र गौरीगञ्जमा चार चार जना, गौरादहमा दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र झापा गाउँपालिकामा एक एक जना संक्रमित भेटिएका छन्।