झापा । बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक जना बिर्तामोड नगरपालिकाको भएको खुलेको छ ।

बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको थियो । बिर्तामोड २ का व्यक्ति केही दिनदेखि बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

मंगलबार संक्रमण पुष्टि भएका पाँचमध्ये बिर्तामोडका एक पुरुष हुन् । भारतबाट आएका उनले आफूलाई बुद्धशान्ति गाउँपालिकाको भएको बताएका थिए ।

नाम र ठेगाना ढाँटेका उनलाई बुद्धशान्तिकै स्थानीय बासिन्दा भनिएको थियो । तर, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जनप्रतिनिधिलाई उनले आफु बिर्तामोड –२ निवासी रहेको बताएपछि यो रहस्य बाहिर आएको हो ।

उनलाई उपचारका लागि धरान लगिएको छ । उनलाई उपचारका लागि धरान लगिएको बिर्तामोड वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए ।