विराटनगर । प्रदेश १ का थप तीन जिल्लामा संक्रमण पुष्टि भएको छ । बुधबार ताप्लेजुङ, तेह्रथुम र पाँचथरमा थप संक्रमित भेटिएका हुन् । प्रदेशभर संक्रमितको संख्या १ सय ८५ पुगेको छ ।

बुधबार एकै दिन प्रदेश १ का १८ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि भएकामा ताप्लेजुङका तीन, पाँचथरका एक, सुनसरीका ८, मोरङ र झापाका २-२ तथा धनकुटा र तेह्रथुमका एक–एक जना छन् ।

प्रदेश १ का १४ मध्ये संक्रमित पुष्टि भएका जिल्ला अब १२ पुगेका छन् । इलाम र ओखलढुंगाबाहेक सबै जिल्ला संक्रमित व्यक्ति फेला परेको सूचीमा समावेश भएका छन् ।

झापा, उदयपुर, धनकुटा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बु, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा संक्रमित पुष्टि भएको प्रदेश १ सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा पुष्टि भएका संक्रमितमध्ये ४८ जना उपचारपछि डिस्चार्ज गरिएका छन् ।

अब आइसोलेसनमा १ सय ३८ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । प्रदेशभरका जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या बुधबार साँझसम्म ३ हजार ८ सय रहेको मन्त्रालयले जनाएको छ ।