काठमाडौँ । कोरोना भाइरसबाट बिहीबार झापाका ५ जनामा संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको पुष्टि गरेको हो ।

भद्रपुरको क्वारेन्टाइनमा बसेका तीन जना र कचनकवलको क्वारेन्टाइनमा बसेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । भद्रपुरको कलबलगुडी क्वारेन्टिनमा बसेका भद्रपुर–१ का ५६ वर्षीय पुरुष र वडा नम्वर –३ का १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कलवलगुरीकै क्वारेन्टिनमा बसेका कचनकवल–६ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएको भद्रपुर नगरपालिकाले जनाएको छ ।

यसअघि भद्रपुरको क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि भारतबाटै आएका थिए । कचनकवलको पथरिया माविको क्वारेन्टिनमा बसेकाहरूको दोस्रोपटक स्वाब परीक्षण गर्दा थप दुईजनामा संक्रमण पुष्टि भएको हो ।

वडा नम्वर– ६ का १७ वर्षीय पुरुष र वडा नम्वर–४ २५ वर्षीय पुरुषमा संक्रमण देखिएको कचनकवल गाउँपालिकाले जनाएको छ । कचनकवलमा मात्रै संक्रमितको संख्या १०२ पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ६३४ पुगेको बिहीबार मन्त्रालयले जनाएको हो ।

नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी दैलेखका ११३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो ।

त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६१ हजार २६२ रहेका छन् । त्यसैगरी आइसोलनमा रहनेको संख्या २ हजार ३३५ जना रहेका छन् । २४ घन्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् ।

यसरी डिस्चार्ज हुनेको संख्या २९० रहेको छ । नारायणी अस्पतालबाट ५ जना र कलैया अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८४ हजार १ सय ३४ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखा र पाल्पा गरी १० जनाको मृत्यु भएको छ ।